मादी खोलाको बाढीले अन्नपूर्ण जिरो हाइड्रोपावरका करोडौँ मूल्यका सामग्री बगायो

मादी खोलाको बाढीले अन्नपूर्ण जिरो हाइड्रोपावरका करोडौँ मूल्यका सामग्री बगायो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ भाद्र २०८३
  • 760
    Shares

पोखरा, ५ भदौ २०८३ ।

कास्कीको मादी गाउँपालिका–१, हुगुस्थित मेगाटेक हाइड्रो एन्ड इन्फ्रास्ट्रक्चर प्रालि (अन्नपूर्ण जिरो हाइड्रोपावर) का विभिन्न निर्माण सामग्री तथा उपकरण मादी खोलामा आएको बाढीले बगाएको छ।

गत साउन २८ र २९ गते परेको अविरल वर्षाका कारण मादी खोलामा आएको बाढीले हाइड्रोपावरका सामग्री बगाएको प्रहरीलाई प्राप्त विवरणमा उल्लेख छ। बाढीका कारण बगाइएका सामग्रीको प्रारम्भिक विवरण प्राप्त भए पनि क्षतिको कुल आर्थिक मूल्य भने यकिन भइसकेको छैन।

प्रहरीका अनुसार बाढीले ग १–०२–००१ क ४७३३ नम्बरको आइचर १० चक्के ट्रक, ब्याचिङ प्लान्ट, ६५ सेट RID, विभिन्न आकारका HDPE पाइप, फलामका डण्डी, हाइड्रोलिक ग्यास, डिजेल कम्प्रेसर, ट्र्याक्टर ट्रेलर, स्काभेटर, क्रसरलगायतका सामग्री बगाएको छ।

त्यस्तै, अक्सिजन सिलिन्डर, एलपी ग्यास, पावर केबल, विभिन्न आकारका मल्टिपल फ्लेक्सिबल, एमएस पाइप, बालुवा, ग्राभेल, ग्याबिन जाली, जस्तापाता तथा दुई टन क्षमताको हाइड्रोलिक ब्रेकरसमेत बाढीले बगाएको विवरणमा उल्लेख छ। बाढीले बगाएका सामग्रीमध्ये हालसम्म कुनै पनि फेला नपरेको प्रहरीले जनाएको छ।

घटनाबारे मिति २०८३ भदौ ३ गते साँझ करिब ५ बजे प्रहरी चौकी सिल्दुजुरेमा जानकारी प्राप्त भएको थियो। त्यसपछि प्रहरी वरिष्ठ हवल्दार गंगा बहादुर घर्ती मगरको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

हाइड्रोपावरको कार्यालयबाट घटनास्थलसम्म पुग्न पैदल करिब ३–४ घण्टा लाग्ने र बाढीका कारण मादी खोलामा पानीको बहाव तीव्र रहेकाले तत्काल घटनास्थलमा पुगेर क्षतिको विस्तृत विवरण संकलन गर्न कठिन भएको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा मोबाइल फोनको नेटवर्कसमेत नलाग्ने बताइएको छ।

प्रहरी टोलीले हाइड्रोपावर कार्यालय क्षेत्रमा रात्री मुकाम गरी भदौ ४ गते बिहान करिब ६ः३० बजे घटनास्थलतर्फ प्रस्थान गरेको थियो। पछिल्लो विवरणअनुसार प्रहरी टोली सोही दिन साँझ करिब ७ बजे मादी गाउँपालिका–१, हुगु तातोपानी क्षेत्रमा मुकाममा रहेको जनाइएको छ।

बाढीले बगाएका प्रमुख सामग्री

  • आइचर १० चक्के ट्रक – १ थान
  • ब्याचिङ प्लान्ट – १ सेट
  • RID – ६५ सेट
  • HDPE पाइप ६३ एमएम – ६०० मिटर
  • १६, १२ र ८ एमएमका फलामे डण्डी – विभिन्न बन्डल
  • हाइड्रोलिक ग्यास – ५ टन, १ पिस
  • डिजेल कम्प्रेसर – १ वटा
  • ट्र्याक्टर ट्रेलर – १ थान
  • स्काभेटर – १ थान
  • क्रसर – १ सेट
  • अक्सिजन सिलिन्डर – ३ पिस
  • एलपी ग्यास – १ थान
  • पावर केबल – ५० मिटर
  • विभिन्न आकारका मल्टिपल फ्लेक्सिबल केबल – २५० मिटर
  • ४ इन्च एमएस पाइप – १० मिटर
  • HDPE पाइप २५ एमएम – २५० मिटर
  • बालुवा – १ हजार घनमिटर
  • ग्राभेल – ५०० घनमिटर
  • ग्याबिन जाली – ७० पिस
  • जस्तापाता – ५० पिस
  • २ टन क्षमताको हाइड्रोलिक ब्रेकर – १ पिस

बाढीले हाइड्रोपावरका ठूलो परिमाणका निर्माण सामग्री र उपकरण बगाएपछि आयोजनामा भएको वास्तविक क्षतिको विवरण तथा आर्थिक मूल्यांकन हुन बाँकी रहेको छ। प्रहरीले घटनास्थलको थप निरीक्षण तथा खोजीपछि क्षतिको विस्तृत विवरण संकलन गर्ने जनाएको छ।

प्रतिक्रिया