नेपालमा तीव्र रूपमा अघि बढेको जनयुद्ध समाप्तरेर प्रतिक्रान्तिका शृंखला जसरी लगभग एक दसकदेखि अघि बढिरहेका छन्, त्यसबाट उत्पन्न समस्या नै नेपाली समाजको आजसम्म पनि समसामयिक राजनीतिक विषय बनिरहेको देखिन्छ । सबै देशी, विदेशी पश्चगामी र प्रतिक्रियावादी शक्तिहरू उक्त क्रान्तिको इतिहासलाई समाप्तै पार्न टुप्पीदेखि पैतालासम्मको बल लगाएर लागिपरे पनि नेपाली राजनीतिमा अहिले पनि त्यसले आफ्नो भूमिका कुनै न कुनै रूपमा खेलिरहेकै छ ।
नेपाली समाजलाई आमूल परिवर्तन गरेर नयाँ जनवादी व्यवस्था वा जनगणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ ०५२ सालदेखि प्रारम्भ भएको जनयुद्ध, जुन कतिपय कमजोरीसहित अघि बढेको थियो, को नेतृत्व गरेर ‘नायक’ र ‘महानायक’ का पगरी गुथेका प्रचण्ड आफैं त्यसलाई प्रतिक्रान्तिको प्रक्रियाद्वारा समाप्त पार्ने कामको पनि नेतृत्व गर्न उद्यत् देखिएकाले आआफ्ना वर्गीय दृष्टिकोणअनुसार नेपाली सञ्चारमाध्यम र केही सीमासम्म भारतीय सञ्चारमाध्यम पनि यसको चर्चामा सक्रिय देखिएका छन् ।
हुन त कुनै व्यक्तिको नामै किटेर किन आलोचना गर्ने र भन्डाफोर गर्ने भन्ने प्रश्न पनि केही मानिसले उठाउँछन् । तर घटनालाई सकारात्मक वा नकारात्मक प्रभाव पार्ने कुनै व्यक्ति देखा पर्छ भने त्यस अवस्थामा व्यक्तिको नाम पनि आउँछ नै । आफ्नो एउटा प्रसिद्ध कृतिको नाम नै ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ राख्नुपर्ने आवश्यकता परेरै लेनिनले त्यसो गर्नुभएको थियो भन्ने बुझ्न कुनै कठिनाइ हुनु हुँदैन । धेरैले अनुमान गरेजस्तै नेपालको राजनीतिमा प्रचण्डको नामै लिएर चर्चा गर्ने अवस्थाको चाँडै अन्त्य हुने स्थिति आएछ भने त्यस प्रकारका चर्चा नगरिने पनि स्पष्टै छ । प्रसंगवश, यहाँ उद्धरणहरूले अलिबढी स्थान लिन गएकोमा आत्मालोचित पनि छु ।
जहाँसम्म हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) को प्रश्न छ, यसले पहिलेको एकीकृत नेकपा (माओवादी) र अहिलेको नेकपा (माओवादी केन्द्र) (अर्थात् माके) का प्रचण्डलगायतका नेताले नेपाली क्रान्ति प्रति विश्वासघात र गद्दारी गरेको, उनीहरूमा वर्गीय र राष्ट्रिय आत्मसमर्पणवाद हावी भएको, नवसंशोधनवादी समूहमा त्यो समूह पतन भएको भन्ने सही र सटिक संश्लेषण प्रस्तुत गरिसकेको छ ।
यसका साथै पछिल्लो चरणमा माके प्रतिक्रियावादीकरणको दिशामा अघि बढेको संश्लेषण पनि हाम्रो पार्टीले गरेको छ । हाम्रो पार्टीले जुन संश्लेषण प्रस्तुत गरेको छ, त्यो व्यवहारमा राम्रोसँग पुष्टि हुँदै पनि गएको छ । प्रस्तुत लेखमा पार्टीको यो संश्लेषणलाई पुष्टि गर्नतिर नभएर आजको समसामयिक विषयमा अन्य लेखकहरूका केही लेखहरूमा अभिव्यक्त मतहरूलाई समेत उल्लेख गर्ने प्रयास गरिएको छ ।
सर्वप्रथम, डा. ऋषिराज बरालको हालै प्रकाशित एउटा लेखका बारेमा यहाँ चर्चा गरिनेछ । केही पत्रपत्रिका र केही अनलाइन पत्रिकामा प्रकाशित डा. बरालको ‘प्रचण्ड पतनको अन्तिम अध्याय’ शीर्षकको उक्त लेखमा भनिएको छः नेपालको राजनीतिक वृत्तमा भर्खरै एउटा भद्दा नाटकको रिहर्सल भएको छ । पर्दा आधा मात्रै खुलेको छ र जे जति खुलेको छ, त्यसले एउटा गजबको परिदृश्य हाम्रोसामु उपस्थित गराएको छ ।
यो सानो मुलुक, नेपालको माटोलाई असाध्यै माया गर्ने यहाँका जनताविरुद्ध, आफूलाई विश्वको उदाउँदो शक्ति राष्ट्र भन्न मन गर्ने भारत कस्ता–कस्ता जालझेल, प्रपञ्च र षड्यन्त्र गर्न पछि पर्दो रहेनछ भन्ने कुरा सबैका सामु खुलस्त भएको छ । यो कलाहीन नाटकको सूत्रधार बनेर सबैका सामु अभिनय गर्ने पात्रका रूपमा एक कालखण्डमा जनयुद्धका नायक, जनताका नेता भनेर सम्बोधित हुने ‘प्रचण्डपथ’ का उन्नायक भनिने पुष्पकमल दाहाल उर्फ प्रचण्ड देखा परेका छन् ।
२००७ सालदेखि आफ्नो व्यक्तिगत स्वार्थको लागि भारतीय गोटी बन्दै मुलुकको सार्वभौम सत्तासमेत धरौटी राख्न पछि नपर्ने भनेर नाम लिइने अमूक–अमूकहरूमा अब आएर पुष्पकमल दाहालको नाम सुनौला अक्षरले सबैले देख्ने र बुझ्ने गरी सूचीकृत भएको छ– ‘नेपालमा राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकता गम्भीर खतरामा पर्दै गएको विषयमा सर्वत्र चासो व्यक्त भइरहेकै बेलामा सबैले स्पष्ट बुझ्ने गरी मोदी सरकार माके र नेपाली कांग्रेसलाई एक ठाउँमा, एउटै कित्तामा उभ्याएर पालो–पालो गरी सरकारको नेतृत्व गराउने सहमति गराउन सफल भयो ।
यो अवस्था सिर्जना गरेपछि त्यसको निमित्त नेपालले चर्को मूल्य चुकाउनुपर्नेमा नेपालका सच्चा वामपन्थी मात्र होइन, देशभक्तहरू समेत एकमत देखिन्छन् । यसका निमित्त नेपालको राष्ट्रिय हितविपरीत धेरै सम्झौतामा, प्रचण्डले नेपालको प्रधानमन्त्रीका हैसियतले सहिी छाप ठोक्नेछन् भन्ने जगजाहेरै छ । यसमा पनि पर्याप्त आशंका व्यक्त गरिँदैछ कि त्यस प्रकारका कतिपय सम्झौता र सहमति खुला हुनेछन् भने कतिपयलाई गुप्त राखिनेछ ।
यसै सन्दर्भमा डा. बरालको उक्त लेखको यो अंशको उल्लेख गर्नु सान्दर्भिक नै होला । उक्त लेखमा अगाडि भनिएको छः ‘नौ महिनाको कार्यकालपछि केपी ओली प्रधानमन्त्रीबाट बाहिरिएका छन् । उनले आफूलाई ‘छापामार शैलीमा हटाउन खोजियो’ भनेका छन् । म यसलाई ‘कु’ को शैलीमा हटाइयो भन्न चाहन्छु । नौ महिनाको लामो अभ्यासपछि भारत नेपालमा एकपटक फेरि लेन्डुप प्रवृत्तिको अन्वेषण गर्न सफल भएको छ, त्यो पनि माओवादी वृत्तबाट ।
ओलीको स्वभाव र सन्कीपन, उनको राजनीतिक विचार आदिप्रति सहमति नभए पनि उनी सम्मान र सहानुभूतिका साथ सरकारबाट बिदा भएर ‘हारे’ भनिए पनि जितेका पात्रझैँ उभिएका छन् । प्रचण्ड प्रधानमन्त्री होलान्, तर उनी राजदूत रेलगायतका भारतीय कर्मचारीभन्दा बढी हुने छैनन् र माओवाद र माओवादी नामसित थप कलंक र बद्नामी जोडिनेछ । अहिले सामाजिक सञ्जालहरू कालो पोतिएको उनको अनुहारले भरिएका छन् ।
केपी ओली नेतृत्वको सरकार ढालेर प्रचण्डको नेतृत्वमा सरकार बन्ने पक्का भए पछि विभिन्न क्षेत्रमा भोज चलेको र खासगरी भारतीय पक्षका मानिसहरूले र भारतमा पनि सत्ता पक्षका मानिसहरूले भोजभतेर गरेका समाचार व्यापक रूपमा आए । स्वयं प्रचण्डकै पार्टीका नेताहरूले पनि भारतीय दूतावासमा भोजभतेर चलेको बताए । के यी घटनाहरू स्वतस्फूर्त रूपमा भएका हुन् ? होइनन् ।
यी सबै प्रायोजित घटनाहरू हुन् । यसै प्रसंगमा लेखमा जुन कुरा लेखिएको छ, त्यो पनि सान्दर्भिका देखिन्छः यतिखेर भारतीय पत्रपत्रिका तथा अनलाइनहरू पढ्दा बडो ‘रमाइलो’ अनुभूत हुन्छ । नालापानीमा पानीका मुहानसमेतको नाकाबन्दी गरेर हाम्राविरुद्ध लडाइँ लड्ने अंग्रेज साम्राज्यवादविरुद्धको इतिहासजस्तै हामीले पनि नाकाबन्दीसहितका यी नौ महिना लडाइँ लड्यौँ । पहिले भूकम्पसित अनि भारतसित । अहिले ‘प्रचण्ड हमारा आद्मी’ भनेर ‘जस्न’ मनाइरहेका छन् भारतीयहरू ।
केही समयअघि ओली सरकारबाट हट्ने हल्लासँगै भारतमा भोजभतेर भयो भनेर सोही पार्टीका नेता अमिक सेरचनको भनाइ सार्वजनिक भएको थियो । ओलीको राजीनामासँगै नेपालको लागि पूर्वराजदूत राकेश सूदले प्रचण्डले गर्नुपर्ने कामको सूची नै अगाडि सारेका छन् । प्रचण्ड ल्याउनुको उद्देश्य उनले सार्वजनिक गरे । सूद तिनै पात्र हुन्, जसले कटवाल प्रकरणताका प्रचण्डलाई बाघबाट बिरालो बनाउँछौँ भनेर घोषणा गरेका थिए ।
ओली गए प्रचण्ड आए भन्ने कुरा मात्र होइन यो । भारतीय टाउको दुखाइसित चीनसितको बढ्दो सम्बन्ध र समझदारी यातायात र व्यापार र वाणिज्यका सन्दर्भहरू पनि जोडिएका छन् । फास्ट ट्र्याकका सम्बन्धमा अन्तिम समयसम्म विमलेन्द्र निधिमार्फत भारतले प्रयास गरेको हो र कोशी उच्च बाँध उसको हिजोदेखिकै योजना हो । प्रचण्ड आफैँ अघि सरेर अपर कर्णाली भारतलाई सुम्पिएका हुन् । अहिले अर्को अचम्मको कुरा बाहिर आएको छ ।
ओलीको राजीनामासँगै भारतले ‘कोसी पुलमा आईएसआई र नेपालका उग्र वामपन्थीहरूको आक्रमण ‘को मनगढन्ते कथा बुनेर सुरक्षाका नाममा भारतीय सेना नेपालमा तैनाथ गर्ने योजना बुनेको छ । यो भनेको प्रचण्डबाहेकका माओवादीहरूमाथि दमनको योजना पनि हो, ज्योति वसुहरूलाई अघि सारेर नक्सलवादी आन्दोलन र भारतीय माओवादी आन्दोलनमाथि दमन गरेझैँ । भारत आफैँ नक्कली आईएसआई बनेर कोसी ब्यारेजलाई ध्वस्त नपार्ला भन्न सकिन्न ।
प्रचण्ड प्रधानमन्त्री भएकै बेला बाबुराममार्फत एयरपोर्टहरूमा भारतीय मार्सल राख्ने अन्तिम तयारी भएकै हो र अब फेरि एकएक बहाना गरेर यो काम गरिनेछ । एकपल्ट भारत नेपाल पसेपछि फर्किन र फर्काउन गाह्रो छ भन्ने कुरा प्रचण्ड प्रधानमन्त्री भएका बेला कोशीमा आएको बाढीलाई बहाना बनाएर विराटनगरमा राखिएको जासुसी कार्यालय भारतले अहिलेसम्म हटाएको छैन र हट्ने स्थिति पनि छैन ।’
यसपछि यहाँ एउटा अर्को समसामयिक लेखको पनि चर्चा गरिनेछ । प्रस्तुत लेखका लेखक पनि बराल नै हुन्, तर उनी प्रचण्डका अनुयायी या शुभचिन्तक भएको स्पष्टसँग बुझ्न सकिन्छ । उनले प्रचण्डको अहिलेको क्रियाकलापलाई ‘बोल्सेभिक स्पिरिट’ सम्म पनि भनेका छन् । यद्यपि यो कुरा त छँदै छ कि उनले नै ‘बोल्सेभिक स्पिरिट’ भन्ने कुरा कति बुझेका छन् । जे होस्, प्रचण्डका एकजना अनुयायी वा शुभचिन्तकले प्रचण्डका विषयमा के भन्दा रहेछन् भन्ने कुराले निश्चय पनि महत्त्व राख्दछ । बरालले प्रचण्डका अन्य क्रियाकलापमा भन्दा पनि उनले नेतृत्व गरेको संगठनप्रतिको चिन्ता व्यक्त गरेको पाइन्छ, उनी लेख्छन्
‘प्रचण्डको मनले गतिशील भएर केही न केही परिणाम निकालौं भन्ने सोचिरहेको देखिन्छ । तर उनको आफ्नै पार्टी यतिसाह्रो कुँजो भइसकेको छ कि आफ्नै कार्यकर्ता उनका लागि साधकभन्दा बढी बाधक बनेका छन् । मन (प्रचण्डको इच्छा) र शरीर (पार्टी संगठन) बीचको गति मिलिरहेको छैन ।
विगतमा जस्तो सत्ता कब्जा गर्ने कि नगर्ने भन्ने दुविधाबाट त माओवादी पार्टी मुक्त भएकै छ, तर पदीय झगडा, भद्दा उपभोक्तवाद र गुटबन्दीले पार्टीलाई अर्को दुविधामा फसाइदिएको छ ।
अथः माओवादी महात्म्य !
प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र नामको यस्तो तामसी भोजनवाला संस्कृति बोकेको पार्टी बनाएका छन् कि उनका नेता–कार्यकर्ता सामान्य पदको लागि पनि मारामार गर्छन् ।
मन्त्री वा राज्यमन्त्रीको सल्लाहकार वा पीएको बन्ने भन्नेमा माओवादीभित्र मल्लयुद्ध चलिरहेको छ । सरकारमा बस्ने म्याद आठ महिनामात्रै भए पनि सिंहदरबारको गेटभित्र माओवादी कार्यकर्ताको लामै लाइन छ, व्यक्तिगत स्वार्थ र माग पूरा गराउनका लागि ।
लोभी कार्यकर्ताहरू सिंगो पार्टीलाई एकताबद्ध बनाउने वा प्रचण्डलाई निष्काम सहयोग गर्नेभन्दा पनि आफ्नो उदरस्थ स्वार्थ कसरी पूर्ति गर्ने भन्ने ‘घले दौड’ मा लागेका छन् । उनीहरू कुमार बन्नुभन्दा गणेश बनेर सिंहदरबार, पुल्चोक अनि पेरिसडाँडामा फन्को मारिरहेका भेटिन्छन् ।
माओवादीकै कतिपय मन्त्रीबीच आपसमा बोलचाल छैन । कसैले मन्त्री पाएकोमा मात्रै होइन कि मन्त्रीको सल्लाहकार वा पीएसमेत नपाएकोमा चित्त दुखाइरहेको भेटिन्छ । पार्टीको पोलिटब्युरो सदस्यसमेत बनिसकेका व्यक्ति मन्त्रीको पीए बनेकामा गौरव गर्दैछन् ।
नेपाली जनता र नेपाल राष्ट्रको हितविपरीत जे भइरहेको छ, त्यो केही पार्टी र नेताहरूको माध्यमबाट भइरहेको छ । देश कुन अवस्थाबाट गुज्रिरहेको छ भने यो बेलामा वास्तविकता बुझ्नको लागि अध्ययन अघि बढाउने, बहसमा उत्रने र सही पक्षमा आफूलाई उभ्याउने पक्षको ठूलो महत्त्व छ ।
एकाबिहानै मन्त्री क्वाटरमा जानोस्, माओवादी र गैरमाओवादीहरूको भीड लागेको देखिन्छ । मन्त्री क्वाटर ह्वास्सै जुत्ताको हरक गन्हाइरहेको छ । कुनै मन्त्रीहरूको सचिवालय व्यवस्थित छैन । बिहान दिसा पनि गर्न नपाउँदैदेखि भेटघाटमा व्यस्त छन् मन्त्रीहरू । उनले नयाँ कुरा सोच्ने न समय पाउँछन्, न ठाउँ । मन्त्रालयमा मन्त्रीको कार्यकक्ष वैदेशिक रोजगार विभागको कार्यालयजस्तै भीडभाडयुक्त देखिन्छ । नीतिनिर्माण गर्ने ठाउँ हो कि सेवा दिने ठाउँ हो, छुट्ट्याउन गाह्रो छ । माओवादीका कतिपय कार्यकर्ताहरू दलालको पछि लागेर सरुवा–बढुवा र कमिसन अभियानको गच्छदार पथमा अघि बढिसकेका छन् ।
माओवादीका केही नयाँ मन्त्रीहरूलाई मन्त्री त भइयो तर के काम गर्ने भन्ने पत्तो छैन । के गर्ने, के नगर्ने ? कार्यकर्ता आउँछन्, दिनभरि धन्यवाद भन्दैमा र हात मिलाउँदैमा बित्छ । उनीहरूलाई मन्त्रालयको विषयगत दक्षता थाहा पनि छैन र अध्ययन गर्ने फुर्सद पनि छैन ।यस्तो भद्रोगल तालले प्रचण्ड नेतृत्वको सरकारले कसरी गति दिन सक्ला ? मन्त्रीको पीए बन्न नपाउँदा झगडा गर्ने कार्यकर्ताले कसरी प्रचण्डलाई अघि बढ्ने ऊर्जा दिन्छन् ?
माओवादी बाहिरका पावर ब्रोकरहरूले पनि माओवादीलाई घेरामा हालिसकेका छन् । अब उनीहरूले कर्मचारी सरुवादेखिका विषय लिएर मन्त्रीलाई आफ्नो प्रभावमा पार्नेछन् र कमाउ धन्दा अघि बढाउनेछन् । यो सामान्य समस्या होइन, जसलाई प्रचण्डले नदेखेजस्तो गर्ने छुट होस् ।
यो सबै समस्याको दार्शनिक एवं सैद्धान्तिक स्रोत के हो भने माओवादीभित्र कम्युनिस्ट नैतिकता हैन, उपभोक्तावाद मौलाएको छ । सर्वहारा अनुशासन हैन, अराजकता र भ्रष्ट छाडावावाद मौलाएको छ । प्रदीप गिरीले भनेजस्तो ‘भतुवा पुँजीवाद’ फस्टायो । फस्टाइरहेको छ ।
माओवादी पार्टी एउटा अन्तरविरोधपूर्ण, विरोधाभासपूर्ण र संक्रमणपूर्ण अवस्थामा छ । राजनीतिक संस्कारका हिसाबले फेरिएर जनपक्षीय बन्ने कि संसद्वादी विकारको थुप्रोमाथि चढेर अग्लो देखिन खोज्ने ? भ्रष्टाचार र बेथितिविरुद्ध शून्य सहनशीलता अपनाउने कि बाँदर लुकेजसरी लुकेर कमिसन एवं भ्रष्टाचारको दलदलमा भासिने ? सबैलाई समेट्ने फराकिलो छाती बनाएर अघि बढ्ने कि गुटमा, कोटरीमा र आफूमा खुम्चिने ? यी गम्भीर प्रश्नहरूले थिचिएका छन् यतिबेला प्रचण्ड । यो फोहोरको थुप्रो नपन्छाएसम्म प्रचण्डको कार्यकाल सफल हुँदैन ।’
आज नेपालमा जुन पुँजीवाद छ, त्यो राष्ट्रिय पुँजीवाद नै होइन । त्यो त राष्ट्रिय पुँजीवादको वाधक दलाल र नोकरशाही पुँजीवाद हो । यस प्रकारको पुँजीवादलाई प्रदीप गिरीले ‘भतुवा पुँजीवाद’ भन्ने नामकरण गरेका हुन् भने वास्तवमा सही नामाकरण हो भन्ने लाग्छ । यसबारे बहस हुनु पनि राम्रो हो ।
आज नेपाली जनता र नेपाल राष्ट्रको हितविपरीत जे भइरहेको छ, त्यो केही पार्टी र नेताहरूको माध्यमबाट भइरहेको छ । यी सबै समग्र राष्ट्र र नेपाली जनताको जीवनसँग जोडिने घटनाक्रहरू हुन् । देश यस प्रकारको अवस्थाबाट गुज्रिरहेको यो बेलामा वास्तविकता बुझ्नको लागि अध्ययन अघि बढाउने, बहसमा उत्रने र सही पक्षमा आफूलाई उभ्याउने कुराको ठूलो महत्त्व छ । यतिखेर जनता हारेजस्तो स्थिति भएको छ । जनताको पराजय अस्थायी हो, अन्तिम जित जनताकै हुनेछ
अन्नपूर्ण पोस्टबाट