देश बन्नु र बिग्रनुको कारकतत्व देशका ठुला पार्टीहरु नै हुन् । देशले जस्तो अवस्था बेहोर्यो त्यसका पछाडी यिनै पार्टीहरुको हात छ । एकपटक देशलाई फर्केर हेर्नुहोस ! यदि देश प्रगतिमा लम्केको छ भने पनि यिनै पार्टीहरु जिम्मेवार हुन्छन, यदि देशमा दुर्गतिमा फसेको छ भने पनि यिनै पार्टीहरुको भूमिका नै प्रदान हुन्छ ।
तर एउटा कुरा याद राख्नुहोस्, यो देशमा दिल्लीको ताण्डवनृत्य नचाउने बेश्यालय घर बन्यो नेपालको संसद भवन । यसका मालिक पहरेदार बनेका छन् नेपालका ठुला पार्टीहरु ।
नेपालीलाई गरिव हुनुमा त्यति दुख छैन जति दिल्लीले हाम्रो राष्ट्रिय स्वाधीनतामा गम्भीर दखल दिन्छ, यसकारण धेरै नेपालीको शिर दुख्ने गर्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र पुर्व नेपाल कस्तो थियो ? अब त्यो कुरा छोडौ ! लोकतान्त्रिक गणतन्त्र स्थापना भए पछी नेपालका मै हुँ भनेर सत्तामा राइधाई गर्ने पार्टीले के गरे ? जनतालाई के दिए ? यसको उत्तर हरेक नागरिकले खोज्नै पर्छ ! यो एक नागरिकको नैसर्गिक अधिकार पनि हो ।
नेपाली काँग्रेस
नेपाली काँग्रेस नेपालको एउटा समाजवादी राजनैतिक दल हो । यो दलको स्थापना सन् १९५० मा नेपाल राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसको एकिकरणबाट भएको थियो ।
यो देशको सबै भन्दा पुरानो पार्टी हो । संबैधानिक राजतन्त्रमा सबै भन्दा धेरैपटक हालीमुहाली गर्ने पार्टी हो। काँग्रेस पार्टीको इतिहाँस देखि हाल सम्म ८६१८ दिन नेपालको सत्ताको प्रधानमन्त्री पदमा बसेको छ । जसमध्य कोइराला परिवारले मात्रै ५८८२ दिन सत्तामा प्रधामन्त्री पद सम्हालेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पनि काँग्रेस पार्टीले सत्तामा अरु भन्दा धेरै सहभागी भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको प्रधामन्त्रीमा गिरिजा प्रसाद कोइराला ८२ दिन, सुशील कोइराला १५३० र शेर बहादुर देउवा २५३ दिन गरे जम्मा १८६५ दिन सत्ता चलाएको छ । जुन आज सम्म अन्य पार्टीहरुको भन्दा सत्ता उपभोगको समय धेरै हो ।
पार्टी र सत्तामा आफ्नो जात र क्षेत्रलाई पुर्खेउलि बिर्तासंग जोडेर कदम चाल्ने कांग्रेसी चलन हो। कांग्रेसको यो चलन नेपालका कथित शाहवंशीय गुणसंग ठ्याक्कै मेलखान्छ।
कांग्रेसको इतिहासमा कोइराला परिवारको हालीमुहाली र राजतन्त्रमा शाहवंशीय हालीमुहालीको चलन लगभग उस्तै मिल्छ।
पछिल्लोपटक सुसील कोइरालाको देहावासन पछी केहि समयकालागि कोइराला परिवारबाट नेतृत्वले बिश्राम लिएको जस्तो देखिए पनि गएको महाधिवेशन द्वारा गगन थापालाई गलहत्याएर कांग्रेसको महामन्त्रीमा सशांक कोइरालाको आगमनलाई पुनः कोइरालाबंशिय चलन जोडिन खोजेको राजनीतिक वृतमा भेटिन्छ।

यसको संकेतलेल के देखाउछ भने फेरी पनि कोइराला परिवारको टुटेको नेतृत्वको कडी निकट भबिस्यमा जोडिने सम्भावना बलियो देखिन्छ।
यी पार्टीहरु मध्ये देशका लागि सबैभन्दा धेरै राष्ट्रघात गर्ने पार्टी नेपाली काँग्रेस अग्रस्थानमा छ। भारत संगको दलाली सम्बन्ध गाँस्न आफ्ना छोरीचेलीलाई दिएर पनि नयाँ सम्बन्ध जोड्ने चिन्तन बोकेको पार्टी हो काँग्रेस ।
राष्ट्रघातको इतिहासलाई फर्केर हेर्नेहो भने सबै भन्दा धेरै देशका नदीनाला बेचेर खाने काँग्रेसीहरु नै हुन्। संबैधानिक राजतन्त्रमा भएका अधिकांस सिमा र सन्धि संझौतामाहरुमा काँग्रेस सहभागी भएको छ ।
देश परिवर्तनमा कछुवाको चालदिने पार्टी काँग्रेस पनि हो। किन भने राज्य सत्ता संचालनमा अहिलेका जल्दाबल्दा पार्टीहरु मध्य सबै भन्दा धेरै सत्ता हसुरेको पार्टी कांग्रेस हो ।
अग्रगामी सोचाई त उसको दस्तावेजमै भेटिदैन। गगन जस्ता अग्रगामी सोंच भएका युवाहरुलाई गुम्राहामा पार्दै, दक्षिणी प्रभुहरुको चाकडी गरेर जनता चिड्याएर सत्तामा रमाई रहने पार्टी हो।
अरु पार्टीहरु कमसेकम नातागोता इष्टमित्र हेरेर राजनीति गर्छन तर कांग्रेसले राजधानीको सिहदरबार र त्यस भित्रको कुर्सीलाई हेरेर राजनीतिक कदम चाल्ने गर्छ। सत्ता पाए अरु केहि चाहिदैन ।
युवाहरुमा नयाँ सोंच र नयाँ भिजन हुन्छ भन्ने कुरामा काँग्रेसले कहिलै बिश्वास गरेन र पत्याएन । बरु कुकुरले हड्डी छोड्ला तर बाचुन्जेल काँग्रेसका बुढो नेताले दोश्रो पुस्तालाई राजनीति हस्तान्तरण कहिलै गर्नेवाला छैनन्।
बुढी मर्दै रहने परम्परावादी कुम्लो सर्दै रहने प्रक्रिया जस्तै कांग्रेस पार्टीको नेतृत्वको पद्दति मिल्दोजुल्दो छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्सवाद लेनिनबाद (एमाले)
नेकपा एमालेको स्थापना १९९१ मा भए पनि २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभाजन र एकताको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) अस्तित्वमा रहेको छ।
संबैधानिक राजतन्त्रमा (१९९०-२००८) एमालेले एक पटक मात्र सत्ता प्राप्त गरेको इतिहास छ, जसको प्रधानमन्त्रीमा मनमोहन अधिकारी २८६ दिन मात्रै रहेका थिए ।
नेकपा एमाले हाल सम्म ५ पटक एमाले सत्तामा पुगेको छ । उसको पार्टी इतिहासमा आजका दिन सम्म १४७६ दिन सत्तामा बसेर प्रधानमन्त्री पद सम्हालेको इतिहास छ, हाल केपी ओली प्रधानमन्त्री बहालवाला हुन् ।
यी ठुला तिन पार्टीको इतिहासमा दोस्रो धेरै पटक सत्तामा हालीमुहाली गर्ने पार्टीमा एमाले पर्छ ।
माक्स-लेनिनको नामबाट पार्टीको नामाकरण गरेपनि मदन भण्डारीको नाम जफेर सत्ता भजाउने चरित्र बोकेको पार्टी एमाले हो । मदन भण्डारी मर्नुको फाइदा बाँचेका अन्य समकक्षी नेताहरुलाई भएको छ । देश र नागरिकलाई केहि फरक परेको छैन ।
कुनै काल खण्डमा तिनै मरेर जाने एमालेका नेताहरुले जनमुखी नारा सतहमा ल्याई दिए, जुन बस्तुगत पनि थिए । तिनै नेतृत्वलाइ पार्टी क्याडरले रक्षा गर्न सकेन । सिद्दान्तका आविस्कारक मरेर गएपछी तिनैको बिचारलाई भजाएर पेटपाल्ने आइएनजीओ पार्टी बन्यो र कम्युनिष्ट पार्टी बनेर देश र जनतालाई खासै परिवर्तन दिन सकेन ।

नेपालको पुरानो कम्युनिष्ट पार्टी एमालेले माक्स-लेनिनको फोटो बल्खु दरबारमा झुण्ड्याएर उल्टै सर्वहारावर्गलाई लुट्दै संसदीय थलोमा ‘कम्युनिज्मको’ ब्यापार गरिरहने पार्टी एमाले हो । कम्युनिष्टहरु सत्ता लोभी हुँदैनन् तर नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा सवै भन्दा सत्तालोभी एमाले बनेको छ।
संबैधानिक राजतन्त्रमा पनि राजाको पाउ मलेर मनमोहन अधिकारीले २८६ दिन प्रधानमन्त्री पद चलाएका थिए । राजतन्त्रमा राजाहरुको चाकडी गर्ने कम्युनिष्टको लिष्टमा पहिलो नम्बरमा एमालेका शीर्ष नेताहरु पर्छन ।
सत्तामा रहेर देशलाई निकाश र गति दिन नसकेको धोगी कम्युनिष्ट पार्टी एमाले हो।
एक हिसाबले हेर्दा उसको सत्तामोह यस्तो देखिन्छ कि, आफ्ना कार्यकर्ताहरुलाई व्यावसायमा जोड्न, राज्यको रोजगार कोटामा आफ्ना कार्यकर्तालाई भर्ति गराउन, राज्यको प्रशासनिक संयन्त्रमा दलाल गर्न, बिजुली बेचेर कमिसन खान, गुण्डाहरु पार्टीभित्र्याएर घुसाएर गुण्डा राज चलाउन…यस्तै यावत कुराहरुमा अगाडी देखिन्छ, यसको उत्तर र उदाहरण चरिहरुले दिसकेका छन्।
कम्युनिष्टहरुको गन्तव्य साम्यवाद हो तर साम्यवादबाट सबैभन्दा बिचलित भएको कम्युनिष्ट पार्टी एमाले हो। साम्यवादी बन्नुको अर्थ साम्यवाद सम्म नपुग्दा सम्म व्यक्ति सर्बहाराकरण हुनुपनि हो तर देशमा अकुत धनसम्पत्तिका मालिक एमालेका नेताहरु छन्। सर्वहारा पार्टीका नेताहरुको शहरमा ठुला ठुला महल छन ।
दुइनम्बरी धन्दा देखि निजि व्यापारमा एमालेकै नेताहरु ठुला ठुला लगानी कर्ताहरु छन् । देशको एक नम्बर शैक्षिक माफिया एमाले हो । स्वास्थ्य क्षेत्रमा पनि माफियागिरि चलाएर दादागिरी गरेर बसेको छ ।
एमालेको राजनीतिले निजि क्षेत्रमा आफ्ना कार्यकर्ता देखि पार्टीका क्याडरहरुलाई व्यापारी बनाएर संरक्षण दिरहेको छ । यसर्थ देशको सबै भन्दा एनजीयो मुखी भएको पार्टी पनि एमाले हो। यसको अर्थ कम्युनिष्टमा हुनुपर्ने गुण एमालेमा कुनै एंगलबाट पनि भेटिदैन तर साम्यवादमा पुग्ने दिगभ्रमित सपना भने ज्युदै सजाएको छ।
गुटबन्दी, नातावाद, कृपाबाद, च्याप्लुसीवादमा सबै भन्दा अगाडी एमाले छ ।
नेकपा एमाले खोक्रो राष्ट्रबादको राग अलापेर सत्ताको खेलमा जनमत प्राप्त गर्दै पुनः दिल्ली झुक्न जाने दैच्युरे हिजडा पार्टीको पहिचानमा पनि स्खलन भयो । बिचारमा कुनै अडान नभएको हावादारी पार्टीको चरित्र पर्दशनीमा छ ।
गरिबहरु झुपडीमा बस्ने एमालेका कम्युनिष्ट नेताहरु राजधानीको महलमा बस्ने हिजै देखिको ठुलो अन्तरविरोध हो । त्यसकारण एमाले कम्युनिष्ट पार्टी हो भनेर पनि सुहाउदैन ।
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र
नेकपा माओबादी केन्द्र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा तिन पटक सत्तामा पुगेको छ र प्रधानमन्त्री पदमा ११४३ सवार गरेको छ । पहिलो पटक पुष्पकमल दाहाल, दोश्रो पटक बाबुराम भट्टराई, तेस्रो पटक पुनः पुष्पकमल दाहाल ।
पुष्पकमल दाहाल पार्टीको अध्यक्ष पदलाई आफ्नो बिर्ता बनाएका छन् । मरुन्जेल सम्म अध्यक्ष नछोड्ने उनको चाहाले पार्टी भित्र बेलाबखत तिब्र संघर्ष जन्मिन्थ्यो । पार्टी भित्र सर्बसत्तावाद हावी भएरै मर्ने उनको अन्तिम इच्छा छ ।
खासगरि संसदीय व्यवस्थाका मतियार काँग्रेस एमाले लगाएतका दलहरुको कुकर्मका कारण माओबादी जन्मेको हो। तर बिडम्बना आज उनैको थातथलोमा प्रचण्डले माओवादी पार्टीलाई सामेल गराए पछि कम्युनिस्ट आन्दोलनको सबै भन्दा ठुलो गद्दार र धोकेबाजको इतिहास माओबादीले रचेको छ।
पूरानो व्यबस्थाको बिरुद्द ध्वंसात्मक लडाई लडेर, १७ हजार भन्दा धेरैको रगत बगाएर पुनः त्यहि ब्यबस्थालाई जगाउदै बिकाश र परिवर्तनको सपना बाँड्ने पटमुर्ख पार्टी माओवादी केन्द्र बन्यो । यहि संसदीय ब्यबस्था नै स्वीकार गर्नु थियो भने यति ठुलो नरसंहार र देशको धनजनको क्षेती किन गराएको हो ?
यहि प्रश्न अहिले प्रचन्ड र उनको पार्टीलाई निल्नु न ओकल्नु भएको छ । फलस्वरुप सत्तामा सहभागी हुँदाको सबै भन्दा ठुलो पार्टी एमालेमा बिलिन हुँदैछ ।

बदमासीको पनि हद हुन्छ । संसदीय व्यबस्थाको बिरुद्द लडाएर त्यहि ब्यबस्था अँगाल्ने बैमानी जस्तो ठुलो राजनीतिक अपराध अरु केहि हुँदैन । यस्तो अपराधको हिसाब किताव चुकाउन प्रचण्ड र माओबादी केन्द्रलाई महङ्गो पर्ने छ ।
उही सत्तालाई अंगिकार गर्नु नै थियो भने कहिँ नभएको हाँडीगाउको जात्रा माओवादी केन्द्रले किन गर्यो ? धेरैले उत्तर खोजिरहेका छन् ।
हिजो गरीबको झुपडीबाट सुरुगरेको राजनीतिक यात्रा धनाढ्य सुमार्गीहरुको घरमा बास बस्ने र छोटै समयमा अकुत सम्पतिको मालिक बन्ने ब्यापारी पार्टी माओबादी केन्द्र बन्यो ।
गरिवको घर उजाड पारेर, आफ्नो घर शहरमा ठड्याउने पार्टीको चरित्र दुनियाले देखि रहेको छ । गाउँको जग्गा बाँझो बनाएर युवाहरुलाई विदेश पलायन बनाउने कारकतत्व माओबादी केन्द्र हो । नेपालमा उर्वरा युक्त जमिनलाई पलटिंग गरेर जग्गा दलाल गर्न सिकाउने माओबादी केन्द्रका क्याडरहरु नै हुन्।
युद्द लडेर शहर पसेका माओवादीहरु संग घर घडेरी जग्गा जमिन छ । केहि प्रतिशतले विदेश गएर आफ्नै परिश्रम गरेर घरघडेरी जोडेका छन् तर धेरैले पार्टीको आडमा घरघडेरी जोडेका छन् ।
अब माओबादी केन्द्रले पनि पेरिस डाँडामा खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्दै आफु बस्ने महलको रंगरोगन गरेर बस्ने चिन्तनमा केन्द्रित भइसकेको छ । केन्द्रीय सत्ता समिकरण देखि स्थानीय तह सम्म भागबन्डा खोज्दै कमाऊ धन्दामा चुर्लुम डुबेको छ । जसरि यस अघि कांग्रेस, एमालेले गर्थे त्यसलाई पनि उछिनेर दलालहरुको दौडमा पहिलो बनेको छ ।
भारतीय बिस्तारबाद भन्दै चर्को नारामा कुर्लने माओबादीहरु बिस्तारबाद कै जयजयकार गर्दै कुन मुख देखाएर सत्तामा बसेका छन् ? देशका लागि आर्को लाजमर्दो राजनीतिक छवी र चरित्र माओबादी केन्द्रले देखाई रहेको छ, जो परिवर्तनका लागि क्रान्ति गर्नेहरुलाई उपहास र अपमान भएको छ ।
लेखकका आफ्नै निजि बिचार हुन्! –कुल सरगम