भारतमा प्रम ओली भारतीय नेता रिझाउन ब्यस्त, नेपालमा माओबादी केन्द्रका मन्त्रीहरुद्वारा प्रमबिरुद्धको बैठक, गृहमन्त्रीले प्रमबिरुद्ध प्रचण्डलाई कुरा लगाए

भारतमा प्रम ओली भारतीय नेता रिझाउन ब्यस्त, नेपालमा माओबादी केन्द्रका मन्त्रीहरुद्वारा प्रमबिरुद्धको बैठक, गृहमन्त्रीले प्रमबिरुद्ध प्रचण्डलाई कुरा लगाए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ चैत्र २०७४
  • 12.2K
    Shares

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राति नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतको पाहुना बनेर आराम गरिरहेका बेला यता पुल्चोकस्थित गृहमन्त्रीको क्वार्टरमा प्रधानमन्त्रीविरुद्ध माओवादी मन्त्रीहरुको गोप्य बैठक बस्यो ।

माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीमध्ये मात्रिका यादव र गिरिजामणि पोखरेलबाहेकको उपस्थिति रहेको सो बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश व्यक्त गरे ।

गृहमन्त्री बादलको आक्रोश प्रधानमन्त्रीले गरेको सचिवहरुको सरुवाप्रति लक्षित थियो । आफूलाई कुनै जानकारी नै नदिई गृहसचिव सुरुवा गरेर प्रेम राईलाई नयाँ गृहसचिव बनाएको भन्दै गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेका थिए ।

राति ९ बजेदेखि १२ बजेसम्म खानासमेत खाने गरी भेला भएका माओवादी मन्त्रीहरुले प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा एकलौटी गरिरहेको भन्दै उनी भारतबाट र्फकनासाथ ‘अब्जेक्सन’ जनाउने निर्णय गरेको स्रोतले बतायो ।

‘प्रधानमन्त्री केपी ओलीले सचिवहरुलाई मन्त्रीप्रति उत्तरदायी नभई प्रधानमन्त्रीप्रति नै उत्तरदायी बनाउन खोजेको देखियो,’ गृहमन्त्री वादलको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘गृहमन्त्रालयमा मलाई नभनी एमालेभक्त प्रेम राईलाई ल्याइएको छ, उनी ओलीबाहेक अरु कसैलाई गन्दैनन् ।’

प्रधानमन्त्री ओलीले भारत जाने बेलामा क्याबिनेटको बैठकै नराखी गलत प्रक्रियाबाट सचिवहरुको सरुवा गरेको माओवादी मन्त्रीहरुको आरोप छ । यसरी एकलौटी ढंगबाट सरकार चल्न नसक्ने भन्दै भेलामा गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेको स्रोतले बतायो ।

क्याबिनेटले गरेको निर्णय भन्दै सचिवको सरुवा गरिए पनि बैठकै नडाकी यस्तो कार्य गर्नु गलत परम्परा भएको माओवादी मन्त्रीहरुको गुनासो छ । ओलीको यस्तो एकलौटी कार्यशैली शैह्य नहुने भन्दै गृहमन्त्री थापाले आक्रोश व्यक्त गरेको स्रोतले बतायो ।

गृहमन्त्री बादलले बोलाएको बैठकमा मात्रिका यादव र गिरिजामणि पोखरेल भने सहभागी थिएनन् । पोखरेल शिक्षा मन्त्रालयको कार्यक्रममा धुलिखेलमा थिए भने यादव केपी ओलीसँगै दिल्ली गएका छन् ।

गृहमन्त्रीको क्वार्टरमा बसेको डिनरसहितको बैठकले सचिव सरुवाबारे प्रधानमन्त्री केपी ओलीसँग कुरा राख्ने र आपत्ति जनाउने निर्णय गरेको स्रोतले बतायो । स्रोतले भन्यो ‘तर, प्रधानमन्त्रीय प्रणाली भएकाले यो विषयलाई राजनीतिक रुपमा उठाइनेछ ।

सरकारमा रहेका माओवादी नेताहरुले पार्टी अध्यक्ष प्रचण्डलाई यसबारे कुरा राख्ने अनि प्रचण्डले केपी ओलीलाई सम्झाउने एक माओवादी नेताले बताए ।’

प्रचण्डनिवासमा पुगे गृहमन्त्री

यसैबीच शनिबार बिहान प्रचण्डनिवास खुमलटारमा गृहमन्त्री रामबहादुर थापा बादल र माओवादी अध्यक्ष प्रचण्डवीच छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कुनै जानकारी नै नदिई सचिवहरुको सरुवा गरेको विषयमा प्रचण्डले प्रधानमन्त्री भारतबाट फर्केपछि कुरा गर्ने स्रोतले बतायो ।

प्रधानमन्त्रीले क्याबिनेटको बैठकै नराखी क्याबिनेट बैठकको हवाला दिएर सचिव सरुवा गरेको विषयले उनको कार्यशैलीमाथि नै प्रश्न उठेको गृहमन्त्री थापाले प्रचण्डसँग गुनासो पोखेका छन् ।

केपी ओलीको यस्तो कार्यशैलीले पार्टी एकतालाई समेत असर पार्न सक्ने माओवादी नेताको भनाइ छ ।

प्रतिक्रिया