दुईदिने भ्रमणमा नेपाल आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले एमाले अध्यक्ष केपी ओलीसँग पौने एक घन्टा एक्ला एक्लै वार्ता गरेकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रूपमा आएकी स्वराजले त्यसक्रममा भारत एमालेसँग नयाँ ढंगले सम्बन्ध सुधार गर्न चाहेको संकेत गरेकी छिन् ।
होटल सोल्टी क्राउन प्लाजामा साँझ पौने ७ बाट सुरु भएको वार्ता पौने घन्टा चलेको थियो । ‘एक्ला एक्लै’ भेटवार्तापछि डिनर छलफल भएको थियो । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमाले नेतृत्वमा बन्ने नयाँ सरकारसँग घनिष्ठ सम्बन्धका साथ काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इच्छुक रहेको सन्देश दिएकी छन् ।
प्रतिनिधिसभा चुनावमा करिब दुईतिहाइ स्थानमा जितेको वामपन्थी गठबन्धनको प्रमुख दल एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा भारतीय विदेशमन्त्री स्वराजले नयाँ सरकारसँग निकट रहेर काम गर्ने बताएकी हुन् ।भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतका रुपमा बिहीबार अपराह्न काठमाडौं आएकी स्वराजले अध्यक्ष ओलीसहितका नेतासँग राजधानीको सोल्टी होटलमा भएको भेटमा नयाँ जनादेशप्रति दिल्ली सन्तुष्ट रहेको बताएकी छन् ।
‘अहिले नेपाली जनताले स्थिरताका पक्षमा जसरी स्पष्ट जनादेश प्रदान गरेका छन्, शान्ति र विकासका पक्षमा जुन प्रकारको मत दिएका छन्, त्यसबाट भारत सन्तुष्ट छ,’ स्वराजलाई उद्धृत गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले सञ्चारकर्मीसँग भने, ‘नेपाल शान्ति, समृद्धि र विकासको दिशामा अघि बढ्नेमा विश्वस्त रहेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि त्यही अपेक्षा र विश्वास रहेको र छिमेकीहरुसँग र नेपालसँग घनिष्ठ रुपले निकट रहेको काम गर्न इच्छुक छ ।’
संविधान जारी गर्ने विषयमा असन्तुष्टि जनाउँदै भारतले पाँच करिब साढे महिना नाकाबन्दी लगाएको थियो । त्यतिबेला एमाले अध्यक्ष ओली नेतृत्वमा माओवादी केन्द्रसहितको गठबन्धन सरकार थियो । भारतमा मोदी नेतृत्वको सरकार थियो ।संविधान जारी भएपछि हालै सम्पन्न चुनावमा वाम गठबन्धन स्पष्ट बहुमत ल्याएर सरकार बनाउने तयारीमा छ ।
‘निर्वाचनमा एमाले र वामपन्थी गठबन्धनले प्राप्त गरेको भारी सफलतालाई बधाई दिनुभयो । खण्डित जनादेशले मुलुक शान्ति, विकास र समृद्धिलाई सहयोग नगर्ने बताउनुभयो,’ ज्ञवालीले भने, ‘स्पष्ट जनादेशले नेपाल शान्ति र विकासमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । शान्तिपूर्ण र संविधानसम्मत रुपमा निर्वाचन सम्पन्न भएकामा उहाँले नेपाली जनतालाई बधाई दिनुभयो ।
नेपाल–भारत सम्बन्ध नयाँ उचाइबाट अघि बढाउन चाहन्छौँ : केपी ओली
काठमाडौंमा यहाँलाई स्वागत छ र बधाईप्रति धन्यवाद व्यक्त गर्दछु । नेपाल–भारतबीचको सम्बन्धलाई हामी नयाँ उचाइबाट अघि बढाउन चाहन्छौँ ।
आजको चेतना, आवश्यकता र आजको अन्तर्राष्ट्रिय र क्षेत्रीय परिवेशमा दुई सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकहरूबीचको सम्बन्धलाई कसरी लिएर जानुपर्छ भन्ने हिसाबले अघि बढ्न चाहन्छौँ ।
हाम्राबीचमा साझा शत्रु गरिबी छ । हाम्राबीचमा काम गर्न सकिने आर्थिक समृद्धि, विकासको बाटोमा साझा हिसाबले अघि बढ्न चाहन्छौँ । यसमा एक–अर्कालाई सहयोग गरेर जाने हाम्रो उद्देश्य हो ।
हाम्रा आयोजनालाई सहज ढंगले अघि बढाउन चाहन्छौँ : सुष्मा स्वराज, भारतीय विदेशमन्त्री
निर्वाचनमा तपाईंहरूले प्राप्त गर्नुभएको विजयप्रति बधाई भन्न चाहन्छु । मेरोतर्फबाट मात्रै होइन, मेरो दल र भारतका तर्फबाट तपाईंहरूलाई धेरै–धेरै बधाई छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीजीले त टेलिफोन गरेरै बधाई भनिसक्नुभएको छ । तैपनि उहाँले मलाई मेरैतर्फबाट बधाई दिनुहोस् भन्दै सन्देश पठाउनुभएको छ ।
केन्द्र र प्रदेशमा प्राप्त गर्नुभएको जनसमर्थनप्रति भोलिका कामका लागि थप शुभकामना पनि छ ।
नेपाल–भारतबीच धेरै लामो गहिरो सम्बन्ध छ । यो सम्बन्धलाई धेरै राम्रोसँग अगाडि लैजानुपर्छ । नेपाल हाम्रा लागि अत्यन्त नजिकको छिमेकी मुलुक हो र छिमेकीप्रति हामीले पहिलो प्राथमिकताको नीति अवलम्बन गर्दै आएका छौँ ।
यो नीतिअनुसार पहिलेका कामलाई प्राथमिकतामा राखेरै सम्बन्ध अघि बढाउने भारत सरकारको नीति छ । हामीले अघि सारेका आयोजनालाई पनि त्यसअनुसार नै अघि बढाउन चाहिरहेका छौँं ।