पोखरा, ७ बैशाख २०८३।
पोखराको लेखनाथ क्षेत्रबाट नौजना जुवाडे समातिएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ पोखरा महानगरपालिका वडा २६ लेखनाथस्थित बराल डाँडाबाट जुवातास खेलिरहेको अवस्थामा नौ जना जुवाडे समातेको हो।
प्रहरीले कसको घरमा संचालित जुवाखालामा छापा मारेको हो र को को पक्राउ परेका हुन् भन्ने बारेमा बिस्तृत विवरण सार्वजनिक गरेको भने छैन। तर उनीहरूको साथबाट नगद तीन लाख १९ हजार ४३५, अमेरिकी डलर एकसय ३४ तथा चार बुक तास बरामद गरिएको जानकारी दिएको छ।
पक्राउ परेका नौ जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत “जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने” मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।