गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्थालाई शहीद तथा बेपत्ता परिवारका नाममा स्थापित अक्षयकोषको रकम फिर्ता गर्न नेकपा कास्कीको चेतावनी

गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्थालाई शहीद तथा बेपत्ता परिवारका नाममा स्थापित अक्षयकोषको रकम फिर्ता गर्न नेकपा कास्कीको चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ माघ २०७४
  • 22.3K
    Shares

राष्ट्रिय अभियान अन्तरगत तीनमहिने एकीकृत जनजागरण अभियान शुरु गरेको नेपाल कम्युनिष्ट पार्टी कास्कीले जिल्लामा विभिन्न प्रचारात्मक एवं जनदबाबमूलक अभियान शुरु गरेको छ भने संगठन निर्माण एवं जनसम्बन्ध सुधार कार्यक्रम अन्तरगत नेकपा कास्कीका कार्यकर्ताहरु जिल्लाका गाउँ–गाउँ र टोल–टोल छिरेका छन् । एकीकृत जनजागरण अभियान अन्तरगत नेकपाका कार्यकर्ताहरुले ठाउँ–ठाउँमा भित्तेलेखन गरेका छन् भने जनसम्बन्ध सुदृढीकरण कार्यक्रम अन्तरगत जनभेटघाट कार्यक्रमलाई तीब्रता दिएको छ ।
यसैबीच नेकपा कास्कीले शहीद तथा बेपत्ता परिवारका नाममा स्थापना गरिएको अक्षयकोषको रकम खान खोजेको भन्दै पोखराको नयाँबजारस्थित गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्थालाई त्यसो नगर्न चेतावनी दिएको छ । नेकपा कास्कीका सेक्रेटरी रुपेशले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै यस्तो चेतावनी दिएका हुन् ।
प्राप्त समाचार अनुसार, २०६४ सालमा सम्पन्न संविधानसभा चुनावमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट बिजयी करीब दुई दर्जन संविधान सभा सदस्यबाट प्रति व्यक्ति दुई लाख रुपियाँका दरले शहीद तथा बेपत्ता परिवारको शिक्षा एवं स्वास्थ्य क्षेत्रमा खर्च गर्ने उद्देश्यले अक्षयकोष स्थापनार्थ एक करोड रुपियाँ रकम संकलन गरिएको थियो । त्यो रकम पोखराको नयाँबजारस्थित गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्थामा खाता खोली अक्षयकोष स्थापना गरिएको थियो ।
अक्षयकोषबाट प्राप्त ब्याजबाट शहीद तथा बेपत्ता परिवारको शिक्षा एवं स्वास्थ्यमा खर्च गरिनुपर्नेमा सो सहकारीले समयमा नै ब्याज नदिएपछि विगत दुईवर्षदेखि सम्बन्धित पक्षले अक्षयकोषबापतको रकम फिर्ता माग गर्दै आएकोमा उक्त गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्थाले वेवास्ता गरेको भन्दै आफ्नो पार्टीमा उजुरी परेको प्रकाशित विज्ञप्तिमा जनाइएको छ । उजुरीप्रतिे पार्टीको ध्यानकार्षण भएको जनाउँदै विज्ञप्तिमार्फत् अक्षयकोषमा रहेको सा“वा रकम यथाशीघ्र सम्वन्धित निकायमा फिर्ता गर्न आव्हान गरिएको छ । यदि साँवा ब्याज फिर्ता नगरिएमा जनयुद्ध एवम् जनआन्दोलनका शहीद, बेपत्ता परिवारको भावना र उजुरीको उच्च सम्मान गर्दै नेकपा कास्कीले थप संघर्षको कदम अघि बढाउन बाध्य हुने विज्ञप्तिमा भनिएको छ । साथै यस्ता खालका गलत कदम र कामको भण्डाफोर गर्न र पीडितलाई न्याय दिलाउने पक्षमा ऐक्यवद्धता जनाइदिन नेकपा कास्कीले सहकारीका सञ्चालक, सहकारी डिभिजन कार्यालय कास्की, आम सञ्चारकर्मी एवम् मानवअधिकारवादी संघ–संस्था र न्यायप्रेमी जनसमुदायसमक्ष आव्हान पनि गरेको छ ।
यसैबीच नेकपा कास्कीले जालकपटपूर्ण तरीकाले जग्गा हडपेको भन्दै विष्णुप्रसाद श्रेष्ठ उर्फ खोप्लाङ्गे साहुको पोखराको न्यरोडस्थित जग्गा आफ्नो पार्टीले कब्जामा लिएको घोषणा गर्दै ती जग्गाहरु किनबेच नगर्न र नगराउन सबैलाई अपिल गरेको पर्चा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया