पोखरा , १ बैशाख २०८३।
झापाको मेचीनगर नगरपालिका-२ स्थित मदन भण्डारी राजमार्गमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।
तिरिङखोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्गा मन्दिर नजिकै दुर्घटनाग्रस्त हुँदा मोटरसाइकलको पछाडि सवार पाँचथरको फिदिम नगरपालिका–१२ घर भई हाल बीओपी बाहुनडाँगीमा कार्यरत ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार सचिन तामाङको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–१ घर भई सोही बीओपीमा कार्यरत ४० वर्षीय सशस्त्र प्रहरी हवल्दार डिल्लिराम सुवेदी घाइते भएका छन्। उनको हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त मोटरसाइकललाई अस्थायी प्रहरी पोस्ट, भृकुटीले नियन्त्रणमा लिएको छ। मृतकको शव हाल बी एन्ड सी अस्पतालमै राखिएको छ। सांकेतिक चित्र