लमजुङ सदरमुकाम बेसीसहरस्थित जिल्ला कारागारका कैदीबन्दीमा एकसाता यता भइरल ज्वरोको संक्रमण फैलिएको छ । कैदीबन्दीमा ज्वरोको संक्रमण देखिएको र बिरामी पर्न थालेको जेलर काजीमान सुनारले बताए । उनका अनुसार बिरामीमध्ये ५ जनाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार गरिएको छ । अन्य कैदीबन्दी बिरामी हुन थालेपछि शनिबार कारागारका सवै कैदीबन्दीको स्वास्थ्य परिक्षण गरिएको उनले बताए ।
‘कैदीबन्दी एक सातादेखि बिरामी छन् । ५ जनाको अस्पतालमै लगेर उपचार गरिएको छ,’ उनले भने, ‘अरु पनि बिरामी परेकाले संक्रमण ठूलोमात्रामा नफैलियोस् भनी स्वास्थ्य शिविर नै संचालन गरियो ।’
उनका अनुसार कारागारमा रहेका ५६ जना कैदीबन्दीमध्ये सबैको स्वास्थ्य परिक्षण गरिएको छ । यी मध्ये ५ जना महिला छन् । बिरामी अवस्थाका ४७ जना कैदीबन्दीलाई औषधि दिइएको छ । कारागार २४ जना क्षमताको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा लमजुङ जिल्ला सामुदायिक अस्पताल र लमजुङ मोडेल अस्प्तालले र्औषधी सहयोग गरेको थियो । कारागारमा भाइरल ज्वरोको संक्रमण बढेपछि कार्यक्रम नै बनाएर स्वास्थ्य शिविरको आयोजना गरिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक त्रिलोकचन्द्र गुरुङले बताए । उनका अनुसार कैदीबन्दीलाई सरुवा रोग तथा महामारी नियन्त्रण सम्बन्धी स्वास्थ्य शिक्षा समेत दिइएको छ ।
कैदीबन्दीको स्वास्थ्य परिक्षणमा संलग्न चन्द्रेश्वर प्राथामिक स्वास्थ्य केन्द्रका डा. सन्तोष वरालले कैदीबन्दीमा भाइरल ज्वरोको संक्रमण फैलिएको । ‘अधिकांश कैदीबन्दीमा ज्वरोको संक्रमण देखियो । सिकिस्त नभएपनि घरिघरि बिरामी हुने, ज्वारो आउने, हराउने र फेरि आउने समस्या छ । तर, टाइफाइडको लक्षण भने देखिएन’ उनले भने, ‘घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, रुखाखोकी लाग्ने, छाती दुख्ने समस्या धेरैमा छ ।’ पछि ज्वरोमा परिणत हुनसक्ने खालको लक्षण भएकाले समयमै उपचार गरिएको उनले बताए ।
समयमै उपचार तथा औषधी सेवनले भाइरल ज्वरो विस्तारै नियन्त्रणमा आउँछ । उनका अनुसार बिरामी कैदीबन्दी सबैलाई पर्याप्त औषधी दिइएको छ । स्वास्थ्य परिक्षण तथा उपचार शिविरमा डा. वरालसहित बाँझखेत स्वास्थ्य चौकीका अहेव खेम गुरुङ लगायतको स्वास्थ्यकर्मीको टोली खटिएको जनस्वास्थ्य निरीक्षक गुरुङले बताए ।
स्वास्थ्य शिविरमा पुगेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जि.सी.ले भाइरल ज्वरोको समस्या जताततै देखिएकाले उमालेको पानी सेवन गर्न र स्वास्थ रहन सल्लाह दिए । खानपानमा ध्यान दिए ज्वरोको संक्रमण कम हुने उनले बताए । उनले बिरामीलाई औषधी समेत वितरण गरे ।