‘सक्षम छौं, क्रियाशील बनौं’’ भन्ने नाराका साथ विश्व बाथ रोग दिवस यस बर्ष पनि विश्वभर मनाइयो । हरेक बर्ष संसारका लाखौंलाख मान्छेहरु बाथ रोगकै कारण मृत्युवरण गर्न बाध्य भइरहेका बेला नेपालमा बाथ रोग दिवस मनाउनु सान्दर्भिक छ ।
बाथ रोगसम्बन्धी जनचेतना नेपाली समाजमा मात्र नभई विकसित देशहरुमा समेत कम छ । अझ दुःखलाग्दो कुरो के भने यसको उपचारसँग सम्बन्धित विभिन्न मिथ्या धारणाहरु समाजमा विद्यमान छन् । त्यसले थप समस्या निम्त्याउँदै आएको पाइन्छ । बाथ रोगबारे सही जानकारी आमजनतामाझ पु¥याउनु अत्यन्त आवश्यक देखिन्छ ।
बाथ रोग शरीरको रोग निरोधात्मक शक्तिले आप्mनै शरीरको अंगलाई असर गरेर हुने रोग हो । यसले गर्दा शरीरमा जोर्नी र यस वरपरका संरचनाहरु दुख्ने, सुन्निने र अररो भई राम्ररी चलमल गर्न नसक्ने अवस्था सिर्जना हुन्छ । एउटै रोग जस्तो देखिए पनि बाथ रोगहरु विभिन्न थरिका हुन सक्दछन् । जोर्नी खिइएर हुने बाथमा (ओस्टियो आरथ्राइटिस), हातगोडाका साना तथा ठूला जोर्नीहरु दुख्ने र बिहानपख अररो एवं कक्रक्कहुने (¥युमरोइड आरथ्राइटिस), प्रायः महिलाहरुमा जोर्नी दुख्ने, कपाल झर्ने र घाममा निस्कँदा अनुहार रातो हुने (लुपस), ४० वर्षमुनिका पुरुषहरुमा शुरु हुने ढाडको बाथ (स्पोण्डीलो आरथ्राइटिस), छालामा देखिने भैंसे दाद (सोरीयासिस)ले हुने सोरियाटिक आरथ्राइटिस, वयस्क पुरुषमा देखिने युरिक एसिड, जोर्नीमा युरिक एसिड जमेर हुने बाथ (गाउट), बच्चाहरुमा देखिने जोर्नीको बाथ र मुटुको बाथ ज्वरो पनि बाथ रोगका उदाहरण हुन् । छाला बाक्लो हुने, चिसो पानी छुँदा हातगोडाका औंलाहरुको रंग परिवर्तन हुने (क्रमैसँग सेतो, नीलो र रातो हुने) स्केलोडर्मा पनि एक किसिमको बाथ नै हो । यी बाहेक अरु धेरै थरीका बाथ रोगहरु हुने गर्दछन् ।
नेपालमा बाथ रोगीहरुसम्बन्धी यकिन आँकडा आजसम्म छैन । यद्यपि, बाथ रोग सम्बन्धमा सघन उपचारको लागि खोलिएको गोसाईकुण्ड बाथ रोग केन्द्र र विभिन्न अस्पतालमा आउने बिरामीको संख्या हेर्दा यस रोगहरुबाट धेरै मानिसहरु ग्रसित भएको अनुभव हुन्छ । जनसंख्याको लगभग १५ देखि २० प्रतिशतलाई कुनै न कुनै किसिमको बाथ रोग भएको अनुमान विज्ञहरुको छ ।
धेरैजसो बाथरोगहरु शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली (इम्युनिटी) मा गडबडीका कारण उत्पन्न हुन्छ । यस्तो हुनुमा मानिसको वंशाणुको केही भूमिका भए पनि अन्य मुख्य कारणहरुको बारेमा भने वैज्ञानिकहरु स्वयं अनभिज्ञ छन् । रोगको कारकतत्व थाहा नभएसम्म रोगबाट कसरी बच्ने भन्न गाह्रो हुन्छ । तर समयमा नै रोगको निदान भई सही औषधिको प्रयोग हुन सकेमा रोगबाट हुनसक्ने विभिन्न जटिलताहरु जस्तै जोर्नी बिग्रने, बाङ्गिने तथा यो रोगबाट मिर्गौला, मुटु, फोक्सो, आँखा तथा स्नायुमा पार्ने असरबाट जोगिन सकिन्छ र आफनो कार्य क्षमता ह्रास हुनबाट जोगाउन सकिन्छ । त्यस्तै धुम्रपान, मध्यपानबाट टाढै रहेर आफ्नो तौलमा नियन्त्रण गरेर तथा स्वस्थ एवं सन्तुलित भोजन सेवन गरेर कैयौं बाथ रोगहरु बढ्नबाट बचाउन सकिन्छ ।
बाथ रोगले बिरामीलाई शारीरिक रुपमा मात्र कमजोर नपारी मानसिक रुपमा पनि कमजोर तुल्याउँछ । परिवारको हेरविचार गर्नुपर्ने बेलामा आफै परनिर्भर बन्नुपर्ने अवस्था आउन सक्छ । वर्षौसम्मको रोगको असर लगातारको दुखाई, लामो समयसम्म औषधि खानुपर्ने बाध्यताले बाथ रोगीहरुलाई समय समयमा ऊर्जाहीन, शिथिल, मानसिक रुपमा थकित र बैरागी बनाउन सक्दछ । त्यस्तै “ग्यारेन्टीका साथ रोग निको पारिदिने” उपचारका नाममा खोलिएका विभिन्न फुट्पाथे पसल, लेबल बिनाका पुरियाका औषधिहरुको प्रयोग र कहिलेकाहीँ जथाभावीको अवैज्ञानिक उपचारले बिरामीलाई सही उपचार पाउन ढिलाई गर्ने मात्र नभई विभिन्न हानिकारक असरहरु ल्याउन सक्छ । र, कष्टमाथि अझै कष्ट थपिदिन्छ ।
नेपालमा बाथ रोगसम्बन्धी सेवाको सुरुवात प्रभावकारी ढंगले भइसकेको छैन । यसको मुख्य कारण देशमा बाथ रोग विशेषज्ञको अभाव नै हो । हाल गोसाईकुण्ड स्वास्थ्य सेवा केन्द्रमा संस्थागत रुपमा बाथ रोगसम्बन्धी सेवा सुरुवात गरेकोले यो रिक्ततालाई केही हदसम्म पूर्ति गर्ने प्रयास सुरु भएको देखिन्छ ।
यसरी विभिन्न किसिमका शारिरीक र मानसिक असरहरुबाट परै रहन बाथका रोगीहरुले एक आपसमा रोगसम्बन्धी आ–आफ्नो ज्ञान, अनुभव साटासाट गर्नु आवश्यक हुन्छ । साथै साथीसंगीहरुसँग आफ्नो समस्याको बारेमा छलफल गरी आफूलाई हलुङ्गो पार्ने प्रयास गर्ने, अरुलाई ढाडस दिनुका साथै नियमित रुपमा शारीरिक व्यायाम, फिजियोथेरापी, योग आदि गर्नु पर्दछ । जनतामा आवश्यक चेतना फैलाउन सकिदा मात्र बाथ रोग दिवसको “सक्षम छौं, क्रियाशील बनौं” भन्ने नाराको सार्थकता हुन सक्दछ ।
त्यसर्थ विश्वका धेरै देशहरुमा बाथका विरामीहरुबीच सहयोग आदानप्रदान गर्न, एक आपसमा रोग सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा संगठित रुपले अघि बढाउन बाथ रोगसम्बन्धी समाजहरु खुलेका छन् । नेपालमै पनि मधुमेह, मुटुको रोग, मिर्गौलाको रोग, क्यान्सर रोग लगायत अन्य धेरै दीर्घ रोगसँग सम्बन्धित समाजहरु विद्यमान छन् र राज्यको तर्फबाट पनि केही हदसम्म सहयोग गर्दै आएको छ । तर बाथ रोगीहरुको स्वास्थ्य प्रबद्र्धनमा राज्यको तर्फबाट अहिलेसम्म सहयोगी भूमिका निर्वाह भएको पाइँदैन । बाथ रोग अलि खर्चिलो र लामो समयसम्म विशेषज्ञको निगरानीमा औषधि सेवन, बेलाबेलामा रगत परीक्षण गरिरहनु पर्ने खालको भएकोले बिरामीहरुलाई शारीरिक, मानसिकसँगै आर्थिक पीडा पनि हुने भएकोले यो रोगको क्षेत्रमा पनि राज्यको ध्यान पुगोस् । अनिमात्र बर्षेनी विश्वभर मनाइने बाथ रोग दिवसको सार्थकता हुन सक्दछ ।
(लेखक गोसाईकुण्ड स्वास्थ्य सेवा केन्द्र (बाथरोग सेन्टरमा आबद्ध वरिष्ठ बाथ रोग विशेषज्ञ हुन् ।)