गृहमन्त्रीमा नफर्किन सुधन गुरुङलाई हर्क साम्पाङको सुझाब : रबि लामिछानेले दिए छानबिनको संकेत

गृहमन्त्रीमा नफर्किन सुधन गुरुङलाई हर्क साम्पाङको सुझाब : रबि लामिछानेले दिए छानबिनको संकेत


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ बैशाख २०८३
  • 1.3K
    Shares

पोखरा , १७ बैशाख २०८३।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ् राईले गृहमन्त्रीमा नफर्किन सांसद सुधन गुरुङलाई सुझाब दिएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङ माथि छिट्टै छानबिन प्रक्रिया शुरु हुने बताएका छन्।

नेता साम्पाङले बुधबार बिहान सामाजिक संजालमा एक स्टाटस राखेर गृहमन्त्रीमा नफर्किन सुझाएका थिए। उनले सामाजिक संजाल फेसबुकमा “सुदन जी, नफर्कनु है ! अफ्ठ्यारोमा पार्न ला छन् ! अब जनता कुट्ने र सुकुमबासीको घर भत्काउने काममा जोत्न ला छन् ! Be clever.” भनेर लेखेका थिए।

यता बुधबार दिउसो सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा अध्यक्ष लामिछानेले गुरुङमाथि कस्तो प्रकारको छानबिन हुने भन्नेबारे पनि चाँडै स्पष्ट जानकारी गराइने बताए। “मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै शुरु हुन्छ। कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि हामी जानकारी गराउँछौँ,” लामिछानेले भने।

लामिछानेका अनुसार स्वयं गुरुङले पनि आफू माथि निष्पक्ष छानबिन हुनुपर्ने धारणा व्यक्त गरेका छन्। “उहाँले पनि ममाथि छानबिन होस्, अरूलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ,” उनले थपे। अब कुन प्रक्रियाबाट छानबिन अघि बढ्ने भन्ने विषय छिट्टै टुंगो लाग्ने उनले संकेत गरे।

सुधन गुरुङ विवादित व्यवसायीसँग व्यावसायिक साझेदारी देखिएपछि गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। उक्त घटनापछि उनको भूमिकामाथि प्रश्न उठ्दै आएको छ र त्यसै सन्दर्भमा छानबिन प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ।

यस घटनाले राजनीतिक वृत्तमा थप चासो र बहस सिर्जना गरेको छ, र अब हुने छानबिनले प्रकरणको वास्तविकता बाहिर ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया