सम्भव छ विचारविहिन कम्युनिस्ट पार्टी – प्रेम दर्नाल

सम्भव छ विचारविहिन कम्युनिस्ट पार्टी – प्रेम दर्नाल


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ माघ २०७२
  • 15.6K
    Shares

आजसम्मको मानव जातिको इतिहास भनेको आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा हुने निरन्तर विकास प्रक्रिया नै हो । यो प्रक्रिया कहिल्यै अन्त्य हुँदैन । वर्गहरु रहँदासम्म वर्ग संघर्षको पनि अन्त्य हुँदैन । वर्गविहीन समाजमा पनि नयाँ र पुरानो तथा सत्य र असत्य, राम्रो र खराबबीचको संघर्ष चलि नै रहन्छ । उत्पादनको निम्ति हुने र त्यसको वैज्ञानिक प्रयोगको क्षेत्रमा समेत मानव जातिको निरन्तर प्रगति र परिवर्तनको चाहना पनि रहिराखेको हुन्छ । सबै अवस्थामा त्यसको मात्रा पनि एकै हुँदैन । यसकारण मानव जातिका सबै अनुभवहरुको योगमा एउटा क्रान्तिकारी पार्टी अविचलित रुपमा निरन्तर अध्ययन खोज, अनुसन्धान, आविस्कार, सिर्जना र विकासमा लागि पर्नुपर्छ । निस्कृयता, निरासावाद, अनविज्ञता, जडसुत्रीय र मन्द विचारहरु त्याग्नैपर्छ ।

ती सोच विचारहरु त्यसकारण गलत हुन्छन, किनभने जुन प्रवितिले सयौ वर्षदेखिका सामाजिक विकासका ऐतिहासिक तथ्यहरुसँग न त सहमत हुन्छ, न त प्राकृतिक विज्ञानका नियमहरुलाई आत्मसात गर्न सक्छ । स्वतन्त्रता प्राप्तिको लडाइँमा प्रकृति विज्ञान मानिसको एउटा महत्वपूर्ण हतियार हो । समाजमा स्वतन्त्रता प्रत्याभूत गराउने उद्देश्यले मानिसले सामाजिक विज्ञानलाई प्रयोग गर्नुपर्छ, बुझ्नुपर्छ, तब मात्र समाज बदल्न सकिन्छ । अन्ततः सामाजिक क्रान्ति सम्भव हुन्छ । प्रकृतिको संसारमा स्वतन्त्रता प्रत्याभूत गराउने उद्देश्यको लागि मानिसले प्रकृति विज्ञानलाई बुझ्नुपर्छ र विजयी बन्नुपर्छ । यसरी प्रकृतिलाई समेत बदलेर मानिसले प्रकृतिबाट स्वतन्त्रता प्राप्त गर्न सक्नुपर्छ । यहीनेर द्वन्द्वात्मक भौतिकवादी माक्र्सवादी दर्शनका दुई वटा श्रेष्ठ विशेषता छन् ।

एउटा यसको वर्ग विशेषता, जसले सर्वहारा वर्गको सेवामा द्वन्द्वात्मक भौतिकवादलाई पूर्ण रुपमा स्वीकार गर्दछ, दोस्रो व्यवहारतः व्यवहारमा आधारित सिद्धान्तलाई जोड दिन्छ, जस्तो कि सिद्धान्त व्यवहारका लागि र व्यवहार सिद्धान्तका लागि, को द्वन्द्वात्मक सुन्दर पक्षलाई जोेड दिन्छ । माक्र्सवादी दर्शन वस्तुगत जगतका समस्याहरु र तिनमा अन्तरनिहित नियमहरुलाई पकड्ने कुरामा कहिल्यै गल्ती गर्न सक्दैन । त्यसरी नै त्यसको व्याख्या र प्रयोगमा व्यवहारद्वारा संश्लेषित उच्चतम्् ज्ञानको माध्यामले संसार बदल्ने ध्येयमा लाग्दछ । त्यसकारण संसारलाई बदल्ने उन्नत समाज निर्माणको ध्येयमा लागेको क्रान्तिकारी पार्टी वा खासगरी माओवादी आन्दोलनमा नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माणको बहस पनि वैचारिक बहस हो ।    त्यस्तो वैज्ञानिक विचार कसरी प्राप्त हुन्छ ? कहाँबाट आउँछ ?

निश्चितै रुपमा त्यो सामाजिक व्यवहारबाट आउँछ । तीन किसिमका सामाजिक कार्यहरु उत्पादनका निम्ति संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगबाट प्राप्त हुन्छ । सामान्यतः मानिस सामाजिक प्राणी हो र उसले सोच्ने कुरामा तत्कालीन समाजको प्रभाव हुन्छ । र पनि अग्रगामी वर्गको ठीक विचारको विशेषता भनेकै उपरोक्त तीन माध्यामबाट जनतालाई गोलबन्द गर्दै प्राप्त गर्नु हो । ती विचारहरु भौतिक शक्तिमा रुपान्तरण भइसके पश्चात मात्र समाजलाई बदल्न र संसारलाई बदल्न सम्भव छ ।    सामान्यतया समाजमा विभिन्न किसिमका मानिसहरु विभिन्न किसिमका संघर्षहरुमा भाग लिइरहेका हुन्छन्, उनीहरु जीवनमा सफलता र असफलताका दुबै अनुभवहरुमा धनी हुन्छन् ।

ठीक यहीनेर बाह्य संसारबाट निरन्तर क्रियान्वयन भइरहेका दृष्यहरुबाट हाम्रो मस्तिस्कमा जे रिफ्लेक्ट हुन्छ, त्यो पहिलो ज्ञान हो । जुन अनुभूतिजन्य हुन्छ । त्यस्तो ज्ञान धारणयोग्य ज्ञान भएर देखा पर्न पनि सक्छ । इन्द्रीयहरुबाट प्राप्त हुने यो एउटा सहज ज्ञानको प्रक्रिया हो । अर्को चरण भौतिक पदार्थको नेतृत्वबाट आत्मगत चेतना अस्तित्वबाट विचारको चरण हो । कसैको चेतना, विचार, सिद्धान्त, योजना, नीतिहरुको मापन बाह्य वस्तुगत जगतमा ठीक ढंगले तिनका नियमहरुमा प्रकट हुन पनि सक्छ, नहुन पनि सक्छ । जुन प्रमाणित गर्न जटील बन्छ ।

जसमा कि पूरै ठीक वा पूरै गलत छ भन्न पनि सम्भव छैन ।    त्यसपछि संज्ञानको प्रक्रियाको दोस्रो चरण आउँछ । त्यो चरण चेतनाको नेतृत्वमा पदार्थ, विचारपछि अस्तित्व, जसमा पहिलो चरणमा प्राप्त हुने ज्ञान सामाजिक व्यवहारमा लागु हुँदा ती सिद्धान्त, नीति, योजना र मानकहरु निश्चित हुँदै पूर्व अनुमानित सफलताहरु समेत हासिल गर्दछ । त्यसकारण आजको दुनियामा कुनै पनि सामाजिक क्रान्तिमा व्याख्या गरिने वैज्ञानिक विचार विज्ञानसम्मत नै हुनुपर्छ । अथवा स्टेफन हकिंस जस्ता वैज्ञानिकहरु समेत कन्भिन्स हुन सक्नुपर्दछ । विज्ञानसम्मत नहुने क्रान्ति प्रश्नै प्रश्नका चाङमा कैद हुन्छ । भइहाले पनि त्यसको दिगोपनमा प्रश्न रहन्छ ।

सामान्यतया भन्नुपर्दा अवैज्ञानिक बाटोबाट जो ती सफल भए, ती ठीक र जो असफल भए ती बेठीक भन्ने हुन्न । विशेष सत्य भनेको मानिसको प्रकृतिसँगको संघर्षकै कुरा हो । सामाजिक संघर्षमा वैज्ञानिक विचार कहिलेकाही अग्रगामी शक्ति हुँदा हुँदै पनि पराजित हुन पुग्यो भने त्यो विचार बेठीक भन्ने हुन्न । कहिलेकाही संघर्षमा सामेल शक्तिहरुको शक्ति सन्तुलनमा वैज्ञानिक विचार कमजोर हुन पुग्दा त्यस किसिमको परिणाम देखा पर्न सक्छ । तर, त्यो अस्थायी पराजय हुन्छ । वैज्ञानिक विचारसहितको शक्ति छ भने बरु ढिलो वा चाँडो विजयको नजिक पुग्दछ । बरु व्यवहारबाट परिक्षणित हुँदै सामाजिक क्रान्तिले अर्को छलाङ हान्न पुग्दछ । त्यसकारण सर्वाधिक महत्वपूर्ण प्रश्न भनेकै वैज्ञानिक विचारको विकास र प्रयोग नै हो । त्यसले विगतमा, वर्तमानमा र भविष्यमा समेत ठीक र बेठीकलाई प्रमाणित गर्दै अघि बढ्छ । ठीक र बेठीकलाई समयमै जाँडपड्ताल गर्न नसक्ने पार्टी वैज्ञानिक हुन सक्दैन । यो प्रश्न नेपालको क्रान्तिमा गम्भीर चुनौती बन्न पुगेको छ ।

वैज्ञानिक विचारले सिद्धान्त, नीति, योजना र मानकहरुलाई बाह्य वस्तुगत जगतमा पटाक्षेप हुँदा सुत्रबद्ध पार्ने काम समेत गर्दछ । यो भन्दा वाहेक सत्यलाई बोध गर्ने वा जाँच्ने अरु कुन बाटो होला ? स्वभाविक रुपमा निष्कर्ष के निस्कन्छ भने पदार्थबाट चेतनाको कैयौ प्रक्रियाहरु पार लागेपछि मात्र सही विचार प्राप्त हुन्छ । पदार्थबाट चेतना र फेरि पदार्थको प्रक्रियालाई व्यवहारमा र त्यसबाट प्राप्त ज्ञान फेरि व्यवहारमा जाने प्रक्रिया नै वैज्ञानिक विचार निर्माणको प्रक्रिया हो । यो नै द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको माक्र्सवादी मान्यता हो ।

यदि वस्तुगत जगतलाई बदल्ने र उन्नत समाज निर्माण गर्ने सच्चा कम्युनिस्ट पार्टीको निर्माणको सिद्धान्त र विधि क्रान्तिमा भाग लिएर मात्र विकास हुन सक्छ । जसको लागि प्रत्यक्ष अनुभवमा जानै पर्ने हुन्छ । व्यवहारमा सक्रिय ज्ञान आफैले यो घोषणा गर्दछ कि अनुभूतीजन्य ज्ञानदेखि तर्कसंगत ज्ञानको एकमात्र सक्रिय छलाङ होइन, बरु तर्कसंगत ज्ञानबाट क्रान्तिकारी व्यवहारको छलाङ नै सही ज्ञान हो ।

प्रतिक्रिया