पोखरा , ९ साउन २०८३ ।
सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत (छैटौँ) तुलाकान्त चौधरी घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोरिङ तथा मोटर जडानसम्बन्धी काम सम्पन्न भएपछि भुक्तानी प्रक्रिया मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
सोही सूचनाका आधारमा अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले ढकाल र चौधरीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनाको साथबाट तीन थान मोबाइल फोन समेत बरामद गरिएको अख्तियारले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।