पोखरा , १० साउन २०८३ ।
रसुवामा ‘अन टेस्ट’ नम्बरको ईभी भ्यान सडकबाट नदीमा खस्दा चालक बेपत्ता भएका छन्।
शनिबार साँझ करिब ५ः४० बजे गोसाइँकुण्ड गाउँपालिका–५, चिलिमे पुलनजिकै पासाङ ल्हामु सडकखण्डमा स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ईभी भ्यान सडकबाट करिब २५ मिटर तल भोटेकोशी नदीमा खसेको हो।
प्रहरीका अनुसार दुर्घटनामा परेको भ्यानमा चालक मात्रै सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। चालकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।
भ्यान सडकबाट नदीमा खसेको दृश्य चिलिमे जलविद्युत् केन्द्रको सीसीटीभी क्यामेरामा कैद भएको बताइएको छ। दुर्घटनापछि भ्यान र चालक दुवै नदीमा बेपत्ता भएका छन्।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको टोली खोजी तथा उद्धारमा परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा तथा सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
नदीमा खसेको भ्यान र बेपत्ता चालकको खोजी कार्य जारी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।