स्थानीय निकायको पुनर्संरचनाको काम भइरहँदा ल्वाङघलेल गाविसका दुई वडाबीच सीमा विवाद उब्जिएको छ । ल्वाङघलेलको वडा नम्बर ८ र ९ बीच निगालोको टुसाले सीमा विवाद निम्त्याएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समितिले टुसा बिक्रीको लागि टेन्डर खोलेपछि विवाद चर्किएको छ ।
एक्याप मातहतको गाविसस्तरीय संरक्षण क्षेत्र व्यवस्थापन समितिले ल्वाङघलेल, माछापुच्छ्रे र सार्दीखोलामा टुसा निकासीको टेन्डर आह्वान गर्छ । जथाभावी टुसा निकासी हुँदा निगालो संकटमा परेपछि एक्यापले त्यसलाई नियमन गरेको थियो ।
ल्वाङघलेलमा विगत ६ वर्षदेखि टुसा निकासीको लागि टेन्डर हुँदै आएको छ । ल्वाङघलेलको ९ नम्बर वडाले भोगचलन गर्दै आएको भूभागमा समितिले टुसा संकलन गर्ने भएपछि वडावासीले विरोध गरेका छन् ।
गाविसको ९ नम्बर वडाले मर्दी खोला पारी ८ नम्बर वडाको केही भूभाग आफ्नो वडामा पर्ने दाबी गर्दै आएको छ । प्रशस्त टुसा पाइने केलखर्क, बुधखर्क र चिमेसाखर्क बर्सांैदेखि ९ नम्बर वडावासीले भोगचलन गर्दै आएकोले उक्त क्षेत्र आफ्नो वडामा पर्ने उनीहरुको तर्क छ । अन्य वडाले भने भोगचलन ९ नम्बरले गरेपनि नक्साअनुसार ती भुभाग ८ नम्बर वडामै पर्ने तर्क गर्छन् ।
व्यवस्थापन समितिले गत असार २६ गते टुसा निकासीका लागि टेन्डर आह्वान गरी साउन ३ गते खोलेको थियो । टुसा पाइने वडाहरु ५, ६ र ८ बाट टुसा संकलन गर्ने गरी टेन्डर खोलिएको थियो । तीन वडाबाट टुसा निकाल्न जम्मा १ लाख १५ रुपैयाँमा ठेक्का दिइएको छ ।
९ नम्बर वडाको संरक्षण क्षेत्र व्यवस्थापन उपसमितिले आफ्नो वडाबाट निकासी नगर्ने निर्णय गरेकोले समितिले उक्त वडामा टेन्डर आह्वान गरेन । वडा नम्बर ९ सिदिङका वासिन्दाले मर्दी पारीको भूभागमा पाइने टुसा निकासीको टेन्डर रोक्न माग गर्दै आएका छन् । उक्त जग्गाबाट टुसा निकासी नगर्न ९ नम्बर वडावासीले एक्याप इलाका कार्यालय ल्वाङघलेलमा ज्ञापनपत्र बुझाएका छन् ।
सिदिङका पर्यटन व्यवसायी सुदीप गौतमले वर्षौंदेखि भोगचलन गर्दै आएको क्षेत्रमा आफूहरुकै अधिकार हुने बताउँछन् । ‘त्यो क्षेत्रको संरक्षण र सम्बद्र्धन हामीले गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो वडाले उपभोग गर्ने कुरामा अरु वडाको पनि विमति छैन ।’ उनले जथाभावी टुसा निकासीले निगालो अभाव भएको बताए ।
ल्वाङघलेलको वनमा निगालो रित्तिँदै जाँदा त्यसको प्रत्यक्ष असर लोपोन्मुख जातका भैंसीमा परेको गौतमले दाबी गरे । ‘नेपालमै लोपोन्मुख लिमे र पाराकोटे जातका भैंसी संरक्षण कार्यक्रम ल्वाङघलेलमा चलिरहेको छ,’ उनले भने, ‘ती भैंसीलाई निगालोको भकारीले बारेको गोठ चाहिन्छ । तर अहिले निगालो अभाव भइरहेको छ ।’
समिति कोषाध्यक्ष समेत रहेका गौतमले सिदिङमा मात्रै लिमे र पाराकोटे १ हजार भैंसी पालिएको जानकारी दिए । गौतमले वडाबाट गतवर्ष ३३ लाख रुपैयाँ बराबरको भैंसी र ७ लाख ५० हजार रुपैयाँ बराबरको घ्यु निकासी गरेको जनाए ।
संरक्षण क्षेत्र व्यवस्थाप समिति ल्वाङघलेलका अध्यक्ष ओमप्रसाद गुरुङले टुसा संरक्षणभन्दा पनि मुख्य विवाद सीमाकै रहेको बताउँछन् । उनले ९ नम्बर वडाको मागअनुसार उक्त वडामा टुसा निकासी रोकेकोले अर्को वडामा हस्तक्षेप गर्न नमिल्ने बताए ।
उनले सरकारले जारी गरेको नक्सामा दुई वडाको सीमा मर्दी खोला नै भएकोले समितिले कुनै विवाद नगरेको प्रष्ट्याए । एक्याप इलाका कार्यालय ल्वाङघलेलका प्रमुख यामबहादुर गुरुङले सीमा विवाद टुंग्याउन सम्बन्धित निकायमा पहल गर्ने बताए । उनले भने, ‘नेपाल सरकाले बनाएको नक्सा हामीले सच्याउन सक्दैनौं ।’