तनहुँ, ७ भदौ २०८३ ।
मुक्तिनाथ दर्शन गरेर सुनौली नाकातर्फ फर्किने क्रममा बाटो बिराएर अलपत्र परेका पाँच भारतीय नागरिकलाई तनहुँ प्रहरीले सकुशल उद्धार गरेको छ। प्रहरीले उनीहरू सवार बिग्रिएको भारतीय नम्बर प्लेटको कारसमेत सुरक्षित स्थानतर्फ पठाएको छ।
आइतबार बिहान करिब ३ बजे UP32LB4609 नम्बरको कारमा चालकसहित पाँच भारतीय नागरिक मुक्तिनाथबाट सुनौलीतर्फ फर्किरहेका थिए। गलत बाटोमा पुगेपछि उनीहरू आफ्नो स्थानबारे यकिन गर्न नसकेको अवस्थामा सवारीसाधनसमेत बिग्रिएर अलपत्र परेका थिए।
उनीहरू अलपत्र परेको सूचना जिल्ला प्रहरी कार्यालय तनहुँको १०० नम्बरमा प्राप्त भएपछि प्रहरीले सम्भावित क्षेत्रमा खोजीका लागि विभिन्न टोली परिचालन गरेको थियो।
खोजीका क्रममा प्रहरी चौकी डुम्रेबेँसीबाट खटिएको टोलीले भिमाद नगरपालिका–१, ढुङ्गेनीस्थित भित्री सडकखण्ड (भिमकाली राजमार्ग) मा भारतीय यात्रुहरू र बिग्रिएको कार फेला पारेको थियो।
प्रहरी टोलीले पाँचै यात्रुलाई सकुशल उद्धार गरी बिग्रिएको सवारीसाधनसहित भिमादतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।