काठमाण्डौको सातदोबाटोमा जेन जी शहिद पार्क उद्घाटनको तयारी : तीन प्रहरीसहित ४५ जना शहिदको शालिक राखिने

काठमाण्डौको सातदोबाटोमा जेन जी शहिद पार्क उद्घाटनको तयारी : तीन प्रहरीसहित ४५ जना शहिदको शालिक राखिने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ भाद्र २०८३
  • 3K
    Shares

काठमाडौं , ७ भदौ २०८३ ।

जेन–जी आन्दोलनको एक वर्ष पूरा हुनै लाग्दा काठमाण्डौको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्विमिङ पुल परिसरमा ४५ जना शहिदको शालिकहितको पार्कको उद्घाटन गर्ने तयारी भैरहेको छ । उक्त पार्कमा जेन–जी आन्दोलनमा ज्यान गुमाएका ४२ जनासँगै नेपाल प्रहरीका तीन शहिदको पनि शालिक राखिने बताइएको छ।

सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका तीन प्रहरीसहित ४५ जनालाई सहिद घोषणा गरेको थियो। तर, पार्क निर्माण शुरु गर्दा प्रहरीबाहेक ४२ शहिदको मात्रै शालिक राख्ने तयारी गरिएको थियो। प्रहरी प्रधान कार्यालयले सम्बन्धित निकायसँग समन्वय गर्दै शहिद प्रहरीको शालिक पनि सोही स्थानमा राख्न आग्रह गरेपछि निर्माण योजना परिवर्तन गरिएको हो।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले प्रहरीको पहलपछि तीन शहिद प्रहरीको पनि शालिक निर्माण शुरु भएको जानकारी दिए। उनका अनुसार शनिबार स्थलगत निरीक्षण गर्दा अन्य शहिदका शालिकसँगै प्रहरी शहिदका शालिक पनि निर्माण भइरहेको पाइएको थियो।

शालिक निर्माणका सहजकर्ता अर्जुन थापाका अनुसार शुरुमा ४२ शहिदका मात्रै शालिक बनाउने योजना थियो। प्रहरीका लागि छुट्टै स्थानमा शालिक निर्माण गर्ने तयारी भए पनि पर्याप्त ठाउँ नभएपछि सबै शहिदको शालिक एउटै पार्कमा राख्ने निर्णय भएको हो।

शनिबारसम्म ४२ शहिदका शालिक निर्माण भइसकेका छन् भने तीन शहिद प्रहरीका शालिक निर्माणको काम पनि शुरु भएको छ। निर्माणाधीन पार्कमा ४५ शहिदका शालिक लस्करै राखिनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार