पोखरा , ३१ साउन २०८३।
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच सार्वजनिक रूपमै विवाद भएको छ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको समापन समारोहमा भेलाबाट पारित निर्णय वाचन गर्ने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतबीच भनाभन भएको हो।
विवाद बढ्दै गएपछि दुवै नेताबीच निर्णय लेखिएको कागज खोसाखोससमेत भएको थियो। कार्यक्रमको प्रत्यक्ष प्रसारण भइरहेका बेला मञ्चमै यस्तो विवाद भएपछि केहीबेर वातावरण असहज बनेको थियो।
विवादको मुख्य कारण भेलाबाट पारित प्रस्तावमा समेटिएको धर्मसम्बन्धी विषय रहेको बताइएको छ। डा. महतले तयार पारेको निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य समावेश गरिएको थियो। तर, निधिले उक्त शब्दावलीप्रति असहमति जनाउँदै त्यसलाई परिमार्जन गरी ‘धार्मिक स्वतन्त्रता’ मात्रै उल्लेख गर्नुपर्ने अडान राखेका थिए। यही विषयमा दुवै नेताबीच कुरा नमिलेपछि मञ्चमै भनाभनको अवस्था सिर्जना भएको हो।
प्रत्यक्ष प्रसारण भइरहेका बेला निधि र महतबीच निर्णयको कागजलाई लिएर तानातानसमेत भएपछि कार्यक्रमस्थलमा उपस्थित नेताहरू केहीबेर अलमलमा परेका थिए।
स्थिति थप असहज बनेपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए। देउवाको निर्देशनपछि डा. महतले तयार पारेको ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदालाई नै कार्यक्रममा वाचन गरिएको बताइएको छ।
यसअघि सम्बोधनका क्रममा देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु भएको र सनातन धर्म मान्ने भए पनि सबै धर्मको सम्मान गर्ने धारणा व्यक्त गरेका थिए। धर्मसम्बन्धी आफ्नो अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि देउवाले त्यसबारे स्पष्टीकरणसमेत दिएका थिए।
कांग्रेसको संस्थापनइतर समूहको भेलामा पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण, नेतृत्व र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। तर, समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर नेताहरूबीच मञ्चमै देखिएको विवादले भेलाको राजनीतिक सन्देशभन्दा बढी चर्चा पाएको छ।
भेलाबाट पारित निर्णयको शब्दावलीमै शीर्ष नेताहरूबीच मतभेद देखिएपछि कांग्रेसभित्र धार्मिक तथा राजनीतिक मुद्दालाई लिएर रहेको फरक दृष्टिकोणसमेत सतहमा आएको छ।