महिला क्रिकेट खेलाडी बेवारिसे भए : सीता रानामगर, उपकप्तान , नेपाली क्रिकेट टिम

महिला क्रिकेट खेलाडी बेवारिसे भए : सीता रानामगर, उपकप्तान , नेपाली क्रिकेट टिम


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ भाद्र २०७४
  • 14.2K
    Shares

सीता रानामगर नेपाली क्रिकेट टिमकी भरपर्दी खेलाडी हुन् । नेपाली क्रिकेटमा अलराउण्डर प्रदर्शन गर्ने सीता नेपाली टिमकी उपकप्तान पनि हुन् । बाँके स्थायी घर भएकी सीताको खेल जीवनमा धेरै खुशीका पलहरू छन् भने दुःखको क्षण पनि ।
कुनै बेला क्रिकेट जगतमा चन्द्र सूर्य उदाएजसरी उदीयमान नेपाली महिला क्रिकेट पछिल्लो समयमा डाडाँपारीको घामजस्तै भएका छन् ।

घरेलु प्रतियोगिता ठप्प छ भने महिला राष्ट्रिय टिमका खेलाडी कहाँ के गर्दै छन्, सम्बन्धित निकाय चुप छन् । आईसीसी र एसीसीले गर्ने प्रतियोगितामा मात्रै सहभागिता जनाउन पाएको नेपाली महिला क्रिकेट खेलाडीको मन कति कुँडिदो हो ! यसै सेरोफेरोमा रहेर नेपाली क्रिकेट टिमकी उपकप्तान सीतासँग सरोज तामाङले गरेको कुराकानीः 

आजभोलि दैनिकी कसरी चलिरहेको छ ?
ट्रेनिङ जाने, आउने त्यति हो । घरैमा बस्ने ।

ट्रेनिङ कस्तो भइरहेको छ ?
मनसुनले गर्दा पनि हो, खासै ट्रेनिङ हुन सकेको छैन । स्टामिनाका लागि अलि अलि गरिरहेकी छु । क्याचेचहरू गर्यो, यस्तै हो । अरु केही छैन ।

महिला टि–ट्वान्टी विश्वकपअन्तर्गतको एसिया छनोट खेल नजिकिँदै छ । तर, अहिलेसम्म कुन खेलाडी कहाँ छन्, अत्तोपत्तो छैन । यसले समस्या त ल्याउँदैन ?
एक दिवसीय फम्र्याटको विश्वकप छनोटपछि नेपाली महिला टोलीलाई निरन्तर प्रशिक्षणमा राखेको भए राम्रो हुने थियो । अब दशै तिहार पनि नजिकिँदो अवस्थामा छ । प्रतियोगिता आउन धेरै समय छैन । कुन खेलाडी कहाँ छन्, के गर्दैछन्, कसैले ध्यान दिएकै छैन । अहिले हामी आफैं तयारी गरिरहेका छौं ।

महिला टोलीको प्रशिक्षक छैन । विश्वकप छनोट नजिक आइसक्यो । के भन्नुहुन्छ ?

प्रशिक्षकको विषयमा हामीचाहिँ के भन्छौं भने मोटिभेट गर्ने, खुड्किलाहरू पार गराउने प्रशिक्षक चाहिएको छ । लास्ट टाइममा पनि हामीमाझ राजु सर र जगत सर प्रशिक्षक हुनुहुन्थ्यो । उहाँहरू जस्तो प्रशिक्षक हामीले पाएको खण्डमा नेपालको खेल माथि पुग्नेछ ।

अबको प्रशिक्षक को हो को हो, हामीलाई थाहै छैन । हामी सबै खेलाडी त्यही टेन्सनमा छांै । पहिलेका प्रशिक्षक कमान्डिङ र स्ट्रिक्ट हुनुहुन्थ्यो । राजु सर कोरियामा हुनुहुन्छ । यता जगत सर व्यस्त हुनुहुन्छ ।
अभिभावक नेपाल क्रिकेट संघ (क्यान) छैन । प्रशिक्षक पनि छैन । हामी त बेवारिसेजस्तै भइसक्यौं ।

क्यान विवादले नेपाली महिला क्रिकेट डाँडापारिको घामजस्तै भएको छ, तपाईंको के टिप्पणी छ ?

भाइ फुटे गँवार लुटे जस्तै भएको छ । उहाँहरूको कुरा मिलेको छैन । व्यक्तिगत स्वार्थ हावी भएको छ । यसको प्रत्यक्ष मार हामीले ब्यहोरेका छौं । महिला क्रिकेटमात्रै होइन, समग्र नेपाली क्रिकेटले ठूलो क्षति ब्यहोरेको छ ।

उहाँहरूको आन्तरिक कुराले गर्दा क्यान निलम्बनमा पर्यो । हामीले पाउने सुविधा, प्रशिक्षण, क्लोज क्याम्पलगायत हरेक कुरामा पीडित भएका छौं ।

यस्तो अवस्था देख्दा कतिको दुःख लाग्छ ?

धेरै दुःख लाग्छ नि । एक दशकभन्दा बढी क्रिकेटमा लागियो । तर नेपाली क्रिकेटको अवस्था भने यस्तो छ । थाइल्याण्डलाई नै हेरौं न । थाइल्याण्डका खेलाडीलाई त्यहाँको संघ यसरी लागेको छ कि हरेक कुरामा कमीको महसुश हुन दिँदैन । हाम्रो पनि संघ बलियोे भएको भए राम्रो ठाउँमा पुग्थ्याैँ होला ।

हामी माथि नपुगेको पनि होइन । हामी पनि कमजोर चाहिँ छैनाैँ । यो सबै खेलाडीको प्रदर्शन र खुबीको आधारमा पुगेका हौं । तर क्यानबाट हाम्रो लागि केही भएको छैन भन्दा फरक पर्दैन ।

आईसीसी महिला टि–ट्वान्टी विश्वकप छनोटमा हामी कतिको आशावादी हुन सक्छौं नेपाल छनोट हुनेमा ?
छनोट खेलको सेड्युल आइसकेको छ । त्यहीअनुसारको प्रशिक्षण हुनुपर्ने हो । अहिले पनि क्लोज क्याम्पमा राखेर राम्रो रणनीति बनाउने हो भने हामी सक्छौं । हाम्रो लागि थाइल्याण्ड मात्रै हो अलि चुनौती दिने टिम । एक दिवसीय विश्वकप छनोटपछि थाइल्याण्ड निरन्तर क्लोज क्याम्पमा छ । तर हाम्रो त्यस्तो वातावरण नै बनेको छैन ।

क्रिकेट खेल्न थाल्नुभएको कति भयो ?

मैले क्रिकेट खेल्न थालेको १० वर्ष भइसक्यो । सन् २००७ देखि क्रिकेट खेल्न थालेको हो ।

सुरुमा क्रिकेटमा लाग्दा अभिभावकबाट साथ थियो ?

त्यो बेलामा म एउटा खेलमात्रै हैन, धेरै खेलमा आबद्ध थिएँ । गाउँतिर छोरी भएपछि घरको काम गर्नुपर्छ भन्ने मान्यता छ । तर म त्यस्तो थिइँन । खेलमा लागेको लागेकै गर्थें । घरबाट आमाको सपोर्ट थियो । बाबाले छोरी मान्छे यस्तो हावा भएर हिँड्नु हँुदैन भन्नुहुन्थ्यो । मैले २ वटा अन्तर्राष्ट्रिय खेल खेल्दा पनि बाबाको राम्रो सपोर्ट थिएन । पछि आएर बाबाले पनि साथ दिनुभयो । अहिलेचाहिँ राम्रो प्रदर्शन भएन भने पनि बाबाले फोन गरेर भन्नु हुन्छ तँ राम्रो खेलेको छैन भन्नुहुन्छ ।

क्रिकेटमा कसरी लाग्नुभयो ?

सुरुमा स्कुलमा पढ्दै गर्दा मध्यपश्चिमाञ्चलका लागि टिम चाहियो भनेर यत्तिकै सहभागितामात्रै जनाएकी थिएँ । म त्यतिखेर टिममा परेकी थिएँ । तर म कसरी टिममा परें मलाई नै थाहा थिएन ।

सानोदेखि क्रिकेटको मोह थियो ?

मेरो रुची क्रिकेट फिटिक्कै होइन । २ वटा अन्तर्राष्ट्रिय खेल खेलिसक्दा पनि क्रिकेटको बारेमा मलाई केही जानकारी थिएन । मलाई क्रिकेट मन पनि पर्दैनथियो । म सानोदेखि नै आई लभ फुटबल भन्थें । फुटबलमै लाग्छु भन्ने खालकी थिएँ । तर, राजधानी छिरेपछि नेपाली राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटिसी) मा आबद्ध भएर क्रिकेट सिकेँ ।

बेसिक कुराहरू बाँकेमै सिकेकी थिएँ । तर क्रिकेटको ज्ञान भने थिएन । पहिले मेरो ब्याटिङ गर्ने पालो नै आउँदैन थियो । किनभने मेरो प्रदर्शन राम्रो पनि थिएन ।

केसीटिसी एकेडेमीमा आबद्ध भएर ट्रेनिङ गरेपछि भने म ओपनिङ ब्याटिङ गर्न थालें ।

खेल जीवनमा अविस्मरणीय क्षण कुन थियो ?
२००९ मा राष्ट्रिय टोलीमा परिन, त्यो क्षण म कहिले पनि बिर्सिन सक्दिन । त्यतिखेर मेरो लागि होइन, गाउँघरमा तेरो छोरी टिममा परेन भनेर बाबा आमालाई सुनाउँदा उहाँहरूलाई नराम्रो लाग्छ कि भनेर आँशु झरेको थियो ।

२००७ मा डेब्यु गरेकी थिएँ । २००९ मा टिमबाहिर भएँ, त्यसपछि अहिलेसम्म राष्ट्रिय टोलीको मुख्य सदस्यकै रुपमा छु ।

महिला क्रिकेटले सोचेअनुरुपको नतिजा ल्याउन सकेको छैन । कहाँ चुकिरहेका छौं हामी ?
यसको मुख्य कारण त क्यान नै हो । क्रिकेटको विकास गर्ने भनेको क्यान नै हो । विडम्बना ! हाम्रोमा क्यान नै निलम्बनमा छ । क्यानले नै क्रिकेटको संरचना परिचालन गर्ने हो । खेलाडी र प्रशिक्षकले त क्यानले भनेअनुसार गर्ने हो । तर अहिले सबै लथालिंगै छ ।

क्रिकेटमा लागेर केही केही पाएँ जस्तो लाग्छ ?
एकदमै.. । आफ्नो नामलाई चिनाउन पाएकी छु । केही मात्रामा दाम पनि क्रिकेटबाटै पाएकी छु । सायद अरु केहीमा नै आबद्ध भएकी भए मलाई कसैले चिन्ने थिएन होला । तर यो सबै मलाई क्रिकेटले दिएको हो । यसका साथै मैले अवसर पाएँ ।

देशको लागि क्रिकेट खेल्नुभयो तर तलब भने छैन, नरमाइलो लाग्दैन ?
धेरै नरमाइलो लाग्छ । केही नभए पनि महिनाको पाँचै हजार जति भएपनि दिए हुने थियो जस्तो लाग्छ । तर क्रिकेटमा यति लामो समयसम्म लागेँ, अहिलेसम्म तलब पाएको छैन । चित्त दुख्छ । विभागीय टोलीमा आबद्ध हुने खेलाडीले तलब पाएका छन् । अन्य खेलाडीको अवस्था के होला ?

पहिलो कमाइले के गर्नुभएको थियो ?
मलेसियामा सम्पन्न एसीसी च्याम्पियनसिपमा उपविजेता बनेर आउँदा क्यानले १० हजार नगदले सम्मान गरेको थियो । गाउँमा टेलिफोन थिएन । त्यसैले सिडीएमए फोन किनेर लगेकी थिएँ ।

१५ वर्षकी थिएँ, त्यतिबेला । एयरपोर्टबाट सिधै सम्मानमा लगेको थियो हामीलाई । सम्मान कार्यक्रममा भाषण भइरहेको थियो । म निन्द्रामा झुलिरहेकी थिएँ । त्यहाँ भाषणमा सबैलाई १० हजार नगदले समान गर्ने भन्दा म निन्द्रैबाट जुरुक्क उठेछु, खुशीले ।

क्रिकेटमा नलागेको भए के बन्नुहुन्थ्यो ?
क्रिकेटमा नलागेको भए म टिचर बन्ने थिएँ कि ? मलाई सानैदेखि टिचर र सोसल वर्कर बन्न मन थियो ।
जीवनभर क्रिकेटमा लागेर देशका लागि खेलियो तर पैसा आमाबाबासँग माग्नुपर्दा लाज पनि त लाग्छ । सुन्नमा चाहिँ सुनेको छु, महिला खेलाडीलाई पनि वर्गीकरण गरेर तलब दिने रे । तर त्यो जहिले पनि योजनामै सीमित हुन्छ ।

नेपाली महिला क्रिकेटको भविष्य कस्तो देख्नुहुन्छ ?
महिला क्रिकेटमा भविष्य छैन । हामीभन्दा जुनियर बहिनीहरू छैनन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि अब खेलाडीको अभाव पर्नेछ । हाम्रो ब्याचपछि कुनै जुनियर टोली नै छैन । यसतर्फ कसैको ध्यान जान सकेको छैन ।

क्रिकेटमा लागेर गल्ती गरे जस्तो त लाग्दैन ?
पहिले पहिले त बच्चै भएर लागियो । तर अहिले यसमा नलागेको भए अन्तै राम्रो गर्ने थिएँ कि जस्तो लाग्छ । अहिले म त खेलिरहेकी छु, पछि खेल्न नसक्ने भएपछि मेरो देशले मलाई केही गर्नेवाला छैन । यसअघिका खेलाडीहरूलाई पनि केही गरेको छैन । सबै विदेशमै हुनुहुन्छ । यो विषयमा साथिहरूबीचमा कुरा हुँदा पनि किन लाग्यौ त भन्छन् । दुःख लाग्छ ।

ब्याक सपोर्ट दिएको भए यस्तो कहिले महसुस हुने थिएन होला । अन्य देशका खेलाडी साथीहरूको फोटो हेर्छु । उहाँहरूलाई संघले कस्तो सहयोग गरेको हुन्छ । तर, हाम्रोमा त्यस्तो छैन ।

@बाह्रखरी

प्रतिक्रिया