बालुवाटारमा देउवा र प्रचण्डले राजीनामा मागेपछि ओली ‘किन दिने’ भन्दै कड्किए

बालुवाटारमा देउवा र प्रचण्डले राजीनामा मागेपछि ओली ‘किन दिने’ भन्दै कड्किए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ साउन २०७३
  • 13.7K
    Shares

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका बसेको मुख्य तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने र अविश्वास प्रस्ताव सामना गर्ने अडान पेस गरेका छन्।

बैठकमा कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी एकता केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो सहज बनाइदिनुपर्ने बताएका थिए। ‘सहज निकास दिन प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने हुन्छ’ प्रचण्डले बैठकमा भने, ‘अब प्रमुख दलले समर्थनले फिर्ता भएपछि सरकार अल्पमतमा परेको छ । त्यसकारण प्रधानमनत्रीले राजीनामा दिएर वातावरण सहज बनाइदिएपछि सहज भएर जान्छ भनेका छौं ।’

कांग्रेस र माओवादी केन्द्रले राजीनामा मागे पछि ओलीले अविश्वास प्रस्ताव ल्याइसकेपछि अब किन राजीनामा दिने भन्दै कड्किएका थिए। ओलीले अविश्वास प्रस्ताव र राजीनामा एक साथ हुन नसक्ने बताएका थिए। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘प्रधानमन्त्रीले दुई जना लाई सोध्नु भो कि राजीनामा समझदारीमा  हुने कुरा हो । अविश्वासको प्रस्तावले  कुरा विगि्रएको हुन्छ । कुन बाटो जान चाहेको हो स्पष्ट पार्नुस् ।’

बैठकमा ओलीले राष्ट्रिय सहमतिलाई भत्काउने गरी आफूलाई रातरात हटाउन खोजिएकोमा आक्रोशसमेत व्यक्त गरेका थिए। ओलीले अविश्वास प्रस्तावमा मतदान भइसकेपछि पनि नयाँ सरकार निर्माणबारे संविधान स्पष्ट नभएकोले यसबारेमा दलहरुबीच सहमति र संविधान संशोधन आवश्यक रहेको तर्क राखेका थिए।  उनले आफु  संवैधानिक हिसावले अघि बढ्ने बताएका थिए ।

कांग्रेस र माओवादीका नेताहरुले भने हुँदै नभएको संविधानको जटिलता देखाएर सत्ता लम्बाउनु गलत हुने बताउँदै नयाँ सरकार निर्माण र संविधानको कार्यान्वयमा सहयोग गर्न आग्रह गरेका थिए।

ओलीले संसद्‍मा सभामुखको भूमिकासमेत सन्तुलित नभएको भन्दै असन्तुष्टी पोखेका थिए। बैठकमा मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, सरकार गठनका विषयमा उत्पन्न विवाद र संवैधानिक प्रश्नहरु, अविश्वास प्रस्ताव, नयाँ सरकार निर्माणलगायतका विषयमा बारेमा छलफल भएको छ।

गठबन्धनका प्रमुख साझेदार माओवादी केन्द्रले गत असार २८ गते सरकारबाट बाहिरिने निर्णय गरेपछि गत बुधबार ओलीविरुद्ध अविश्वास प्रस्ताव प्रस्ताव पेस गरिएको थियो।
उक्त विषयलाई लिएर दुवै पक्षले संवैधानिक जटिलताका विषयमा कानुनविद्हरुसँग आ-आफ्नै ढंगबाट परामर्श गरेका छन्।

प्रतिक्रिया