१९ साउन, काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली काँग्रेस र माओवादी केन्द्र मिलेर राष्ट्रिय जनता पार्टीलाई एमाले विरुद्ध प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
उनले मधेशका अधिकांश दल क्षेत्रीय पार्टीको रुपमा स्थापित भएकोले क्षेत्र अनुसार नै माग उठाएको तर एमाले सम्पूर्ण देशको एउटा सुनौलो पार्टी भएको भन्दै राष्ट्रिय दृष्टिकोण मधेशी दलले भने अनुसार संविधान संशोधन हुन नसक्ने बताएका हुन्. ।
आज जनकपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले काँग्रेसले राजपालाई निर्वाचनमा आउन नदिन दाउपेचको राजनीतिमा लागेकोले चुनावमा आउन राजपालाई आग्रह गरे । केही दल बाहेक सबैको सहमतिमा जारी भएको संविधानको कार्यान्वयनको पक्षलाई संगसंगै लानुपर्नेमा भट्टराईले जोड दिँदै काग्रेस र माओवादीले पेश गरेको पहिलो र दोश्रो संशोधन विधेयकले व्यवस्थापिका संसदको अधिकारलाई नै समाप्त पार्न खोजेकोले आफुहरु त्यसको विपक्षमा उभिएको बताए ।
उनले भने – “संविधान कुनै धार्मिक ग्रन्थ होईन की एकपल्ट लेखिसकिएपछि परिवर्तन नै हुँदैन, संविधान समयको माग अनुसार, समय सापेक्ष रुपमा परिवर्तन गर्दै लैजानुपर्छ तर अहिले संविधान संसोधनको बेला होइन ।” तेश्रो तहको निर्वाचनमा एमालेका शीर्ष नेताहरु प्रदेश नं. २ मा झरिसकेको भन्दै दुई चरणको निर्वाचनमा एमाले पहिलो पार्टी भएकोले तराई मधेशका जिल्ला तथा प्रदेश नं. २ मा समेत एमाले पहिलो हुनेमा पार्टी विश्वस्त रहेको बताए ।