सुर्खेत । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पटक–पटक केन्द्रबाट गएको बजेट सवारी साधन, जनप्रतिनिधिको सुविधामा खर्च नगर्न निर्देशन दिएपनि स्थानीय निकायले अटेर गर्दै वडाअध्यक्षलाई मोटरसाइकल खरिद गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाले मोबाइल खरिद गर्ने निर्णयमा पनि चौतर्फि विरोध भइरहेको बेला सुर्खेतको चौकुने गाउँपालिकाले प्रत्येक वडाअध्यक्षलाई मोटरसाइकल खरिद गर्ने निर्णय गरेको हो ।
सो गाउँपालिकामा १० वटा वडा मध्ये सवारी साधन नभएको वडालाई मोटरसाईकल खरिद गर्ने निर्णय गरेको हो । उक्त खरिद गर्ने भनिएको मोटरसाइकल वडाअध्यक्षले प्रयोग गर्नेछन् ।
गाउँपालिकाले वडाअध्यक्षलाई मोटरसाइकल खरिद गर्ने निर्णयसँगै स्थानीयले विरोध गरेका छन् । उक्त गाउँपालिकामा एम्बुलेन्स समेत नभएकाले वडाअध्यक्षलाई मोटरसाइकल भन्दा विरामीका लागि एम्बुलेन्स खरिद गर्नुपर्ने स्थानीयको माग रहेको छ ।
गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीका अनुसार मोटरसाइकल खरिद गर्न २२ लाख ५० हजार रकम विनियोजन गर्ने निर्णय भएको छ । मोटरसाइकल खरिद गर्न १० लाख र वडा कार्यालयमा मोटरसाइकल खरिद गर्न १२ लाख ५० हजार रकम छुट्याइएको छ ।
यसअघि काठमाडौं महानगरपालिकाले मोबाइल खरिद गर्ने निर्णयमा पनि चौतर्फि विरोध भएको थियो ।
उक्त गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेद्वार धिरबहादुर शाहि र उपप्रमुखमा पनि एमालेकै निर्मला राणामगर निर्वाचित भएका थिए ।
साउन ९ गते, २०७४