आन्तरिक विवादका कारण बाबुराम भट्टराईको नयाँ शक्तिमा लफडा, उपेन्द्रको समाजवादीमा पनि भुईचालो

आन्तरिक विवादका कारण बाबुराम भट्टराईको नयाँ शक्तिमा लफडा, उपेन्द्रको समाजवादीमा पनि भुईचालो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ साउन २०७४
  • 7.4K
    Shares

काठमाण्डु, ८ साउन । आन्तरिक विवादका कारण संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकतामा समस्या देखिन थालेको छ। दुवै दलमा एकताको पक्ष र विपक्षमा फरक–फरक विचार देखिएपछि एकता प्रक्रिया जटिल बन्दै जान थालेको छ।

संघीय समाजवादी फोरमका केही नेता बाबुराम भट्टराईले मधेसलाई धोका दिएकाले उनलाई नेता स्वीकार गर्न नसकिने तर्क गर्दै उपेन्द्र यादवको नेतृत्वमा मात्रै एकता हुनुपर्ने पक्षमा छन् । तर, नयाँ शक्तिका नेताहरू भने बाबुरामको नेतृत्वमा मात्रै एकता सम्भव भएको तर्क गरिरहेका छन्।

राजनीति नबुझेका व्यक्तिहरूले पार्टी एकता भाँड्न लागिपरेको नयाँ शक्तिका नेता खिमलाल देवकोटाको टिप्पणी छ । एकताबारे निर्णय गर्न नयाँ शक्तिले सोमबार र मंगलबार केन्द्रीय कार्यकारिणी, बुधबार र बिहीबार केन्द्रीय परिषद्को बैठक बोलाएको छ । एकताबारे फोरमबाट राजेन्द्र श्रेष्ठ र नयाँ शक्तिबाट देवेन्द्र पौडेलको नेतृत्वको वार्ता टोलीले छलफल जारी राखेको छ।

छलफलका तीन बुँदा

बाबुरामको वरीयता
बाबुराम भट्टराईलाई एक नम्बरको नेतासहितको भूमिका हुने कि नहुने भन्ने विषयमा अहिलेसम्म टुंगो लागेको छैन । वार्ता टोलीबीच छलफल भइरहेको छ । नयाँ शक्तिका नेता खिमलाल देवकोटाको भनाइमा बाबुरामलाई वरीयतामा एक नम्बर, उपेन्द्र यादवलाई दुई र अशोक राईलाई तीन नम्बरमा राख्ने सहमति भएको, तर कुन पदीय नाम राख्ने भन्नेचाहिँ टुंगिएको छैन ।

पार्टीको नाम
एकतापछि पार्टीका नाम के राख्ने भन्नेमा मत मिलेको छैन । अहिलेसम्म पार्टीको नाम समाजवादी पार्टी राख्ने भन्ने छलफल चलिरहेको छ । तर, प्रदेश नम्बर २ मा हुने २ असोजको स्थानीय निर्वाचनमा असर पर्न सक्ने भन्दै फोरम भन्ने शब्द कतै जोड्नुपर्ने तर्क संघीय समाजवादी फोरमका नेताहरूको छ ।

पार्टीको झन्डा
पार्टीको झन्डाबारे अनौपचारिक सहमति जुटेको छ । झन्डामा रातो पृष्ठभूमिमा एउटा तारा हुने वार्ता समितिका सदस्यसमेत रहेका देवकोटाले जानकारी दिए ।

फोरममा तीनथरी मत
राजेन्द्र श्रेष्ठ पक्ष असन्तुष्ट
संघीय समाजवादी फोरमभित्र नयाँ शक्तिसँग एकता गर्नेबारे विवाद देखिएको छ । फोरमभित्रका जनजाति नेताहरू बाबुरामलाई तत्काल स्वीकार गर्ने पक्षमा देखिएका छैनन् । साथै, केही मधेसी नेताहरू पनि बाबुरामलाई पार्टीमा ल्याउन नहुने तर्क गरिरहेका छन् । फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ बाबुरामलाई फोरममा ल्याउने पक्षमा सकारात्मक छैनन् । तर, उनी एकताका लागि गठन गरिएको वार्ता समितिको सदस्य छन् । बाबुरामले पहिचानको मुद्दा छोडिसकेको उनको तर्क छ । तेस्रो वरीयतामा रहेका श्रेष्ठमा बाबुरामलाई भित्राएपछि पोर्टफोलियो के हुने भन्ने चिन्ता देखिएको फोरम स्रोतको भनाइ छ।

बाबुरामबाट संविधानमा धोका
अहिले बाबुराम भट्टराईलाई हेर्ने दृष्टिकोणमा पनि फोरमभित्र विवाद छ । ३ असोज ०७२ मा संविधान जारी गर्न प्रमुख भूमिका खेलेका बाबुरामप्रति मधेसमा सकारात्मक धारणा नभएकाले उनलाई स्वीकार गर्न नसकिने तर्क फोरमभित्र जबर्जस्त छ । यो मत राख्नेमा उपेन्द्र यादव पक्षधर मधेसी मूलका नेताहरू छन् । तर, स्वयं उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई भने बाबुरामलाई एकतामा ल्याउन चाहन्छन् ।

बाबुरामलाई दोस्रो वरीयता
फोरमभित्र उपेन्द्र यादवलाई अध्यक्ष र बाबुरामलाई दोस्रो तहको नेताका रूपमा एकता गराउने तर्क पनि छ । केहीले बाबुरामलाई सर्वोच्च नेता बनाएर उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष बनाउने पक्षमा मत राखेका छन् । बाहिर जुन पद दिए पनि वरीयता क्रममा भने पहिलो उपेन्द्र यादव, दोस्रोमा बाबुराम भट्टराई, तेस्रोमा अशोक राईलाई राख्ने विषयमा फोरमभित्र करिब–करिब सहमति छ । दुई पार्टीबीच भएको छलफलमा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई चक्रीय प्रणालीअनुसार अध्यक्ष बनाउने कि भन्ने विकल्पमा पनि छलफल चलिरहेको छ । स्थानीय तहको निर्वाचनमा नयाँ शक्तिको कमजोर उपस्थिति देखिएपछि फोरमका अधिकांश नेताहरू बाबुरामलाई पहिलो वरीयताको नेता स्वीकार गर्न नसकिने तर्क गरिरहेका छन् । तर, अहिलेसम्मका वार्तामा पदीय मर्यादा भने मिलिसकेको छैन ।

नयाँ शक्तिभित्र झन् लफडा
केशव दाहालहरू साझातिर
नयाँ शक्तिका केशव दाहाल, डम्बर खतिवडालगायतका नेताहरू फोरमसँग एकता गर्ने पक्षमा छैनन् । उनीहरूले बरु साझा पार्टी र विवेकशील नेपाली दलसँग एकता गर्न सकिने धारणा राखेका छन् । उपेन्द्र यादवको फोरम पुरानै दल भएको भन्दै उनीहरू त्यस्तो दलमा नजाने मनस्थितिमा छन्।

एनजिओवालाको अर्कै मत
लामो समय आइएनजिओ–एनजिओमा बिताएका केही नेताहरू पनि उपेन्द्र यादवसँग पार्टी एकता गर्ने पक्षमा छैनन् । डा। प्रदीपमान तुलाचन, लिली थापा, दुर्गा सोबलगायतका नेताहरू एनजिओ पृष्ठभूमिबाट आएका छन् । उनीहरू पार्टी एकताको विषयमा विभाजित छन् । बाबुराम भट्टराईलाई नेता मानेर आएको, तर उनको नेतृत्वमा एकता नहुँदा एकताको सान्दर्भिकता के हो रु भन्ने उनीहरूको प्रश्न छ ।

पूर्वमाओवादी नेताहरू एकताको विपक्षमा
माओवादी पृष्ठभूमिबाट आएका नेताहरू उपेन्द्र यादवलाई नेता मानेर एकतामा जाने पक्षमा देखिएका छैनन् । यो ठूलो समूह माओवादीमा हुँदाका क्षेत्रीय ब्युरो सदस्य रहेका उपेन्द्र यादवलाई नेता नमान्ने पक्षमा छन् । देवेन्द्र पौडेल, कुमार पौडेल, गंगा श्रेष्ठ, खिमलाल देवकोटा त्यतिवेला उपेन्द्रभन्दा सिनियर थिए । त्यही कारण उनीहरू पुरानै पार्टीमा फर्किनसमेत तयार देखिन थालेका छन् ।

बाबुरामले धोका दिएको आरोप
बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति बनाउने सपनामा आएको, तर अहिले एकताको नाममा पुरानै पार्टीमा जाने हो भने उनले गम्भीर धोका दिएको हुने मत पनि बलियो छ । खासगरी यो मत राख्नेमा अन्य दलका पृष्ठभूमि रहेका र विदेशमा रहेका शुभेच्छुक बढी छन् । तर, राजनीति नबुझेका व्यक्तिहरूले बाबुरामले धोका दिएको तर्क गर्ने अतिवादी धारणा रहेको नयाँ शक्तिका नेता खिमलाल देवकोटाको टिप्पणी छ ।

बाबुरामको नेतृत्व अनिवार्य
एकताका क्रममा बाबुराम भट्टराईलाई प्रमुख नेता बनाउनुपर्ने तर्क नयाँ शक्तिका नेताहरूको छ । बाबुरामलाई नेतृत्व नदिने अवस्थामा एकता आवश्यक नभएको उनीहरूको बुझाइ छ । बाबुरामको नेतृत्वमा बाहेक एकता स्वीकार्य नभएको नयाँ शक्तिका नेता गंगा श्रेष्ठले बताए। – नयाँ पत्रिकाबाट

प्रतिक्रिया