पोखराबाट स्मार्ट लाइसेन्स वितरण सुरु भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकीका प्रमुख कीर्तनराज पौडेलले मंगलबार नवीकरण गरेको ४ जना सेवाग्राहीलाई स्मार्ट लाइसेन्स प्रदान गरेका हुन् ।
स्मार्ट लाइसेन्सको प्रक्रिया असार ६ गतेदेखि सुरु भएको प्रमुख पौडेलले बताए । ‘अहिले नवीकरण गरेकालाई मात्र स्मार्ट लाइसेन्स दिएका छौ,’ उनले भने, ‘नयाँको लागि केही समय लाग्ने छ ।’ नयाँका लागि साउनबाट आवेदन खुलाउने योजनामा रहेको उनले बताए । ‘साउन १ गतेदेखि नयाँलाई आवेदन खुलाउँछौ,’ उनले भने, ‘हाम्रो भवन निर्माण हुँदै छ त्यो साउन भन्दा अघि तयार भयो भने हामी पहिले नै खुलाउन पनि सक्छौ ।’
नयाँ आवेदन खुलेपछि सेवाग्राहीलाई अन्य सुविधासमेत अघि बढाउने उनले जानकारी दिए । ‘नयाँ आवेदन कार्यालयबाट मात्र नभएर अनलाइन समेतबाट भर्न पाउने व्यवस्था मिलाउँछौ,’ उनले भने, ‘यातायात व्यवस्था विभागले अनुमति दियो भने हामी साउनबाटै त्यो सेवा सुरु गर्न सक्छौ ।’ त्यसका लागि पनि केही नियम हुने उनले बताए । ‘आवश्यक परेकाले अनलाइबाट फारम भर्छन्,’ उनले भने, ‘१ दिनमा कतिलाई आवेदन भर्ना दिने भन्ने हुन्छ सोही अनुसार खुल्ला गर्छौ अनि बन्द गछौं ।’
सुरुआतमा केही समय लाग्ने उनले बताए । ‘अहिले सुरुआतमा आवेदन दिएको २ महिनापछि मात्र स्मार्ट लाइसेन्स तयार हुन्छ,’ उनले भने, ‘नयाँ प्रविधि अनि नयाँ काम भएको हुनले अहिले सुरुआतमा यति समय लाग्नु स्वभाविकै हो । पछि छिटो हँुदै जान्छ ।’ केन्द्रले नयाँ ट्राइलका लागि ल्याएको स्मार्ट कार्ड मंगलबार प्रदान गरिएको उनले बताए ।