वीरगन्ज, १५ भदौ २०८३ ।
वीरगन्जस्थित नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी भएको छ। आइतबार राति पहिचान खुल्न नसकेकी एक महिलाले खेलाउने बहानामा शिशु लिएर अस्पतालबाटै फरार भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार अन्दाजी ३५ वर्षीया ती महिलाले शिशुकी हजुरआमासँग ‘बच्चा खेलाउँछु’ भन्दै मागेकी थिइन्। हजुरआमालाई झुक्याएर शिशु लिएपछि ती महिला फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत बालकलाई जन्म दिएकी थिइन्। जन्मिएको २४ घण्टा नबित्दै प्रसूति वार्डबाटै नवजात शिशु चोरी भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले शिशुको खोजी तीव्र बनाएको छ। डिएसपी मल्लका अनुसार अस्पताल परिसर तथा आसपासका क्षेत्रमा प्रहरी टोली परिचालन गरी शङ्कास्पद व्यक्तिको निगरानी तथा खोजी भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दै शिशु लिएर फरार भएकी महिलाको पहिचान र खोजीका लागि विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।