नवलपुरको बुलिङटारमा आयोजित भलिबल प्रतियोगितामा झडप : एक युवक घाइते, ६ जना नियन्त्रणमा

नवलपुरको बुलिङटारमा आयोजित भलिबल प्रतियोगितामा झडप : एक युवक घाइते, ६ जना नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ कार्तिक २०८३
  • 475
    Shares

नवलपुर, ५ कार्तिक २०८३।

नवलपुरको बुलिङटारमा आयोजित भलिबल प्रतियोगितामा झडप हुँदा एक युवक घाइते भएका छन् भने उक्त झडपमा संलग्न रहेको आरोपमा प्रहरीले छ जनालाई नियनत्रणमा लिएको छ।

बुलिङटार गाउँपालिका–१ ढाडबेसीस्थित श्री जनक जागृति माध्यमिक विद्यालयको खेल मैदानमा जारी भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको क्रममा भएको झडपमा बुलिङटार–१ का २५ वर्षीय छबिराज खण्डलुक घाइते भएका हुन्।

अरुणोदय युवा क्लबको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा झैझगडा हुँदा घाइते भएका छबिराज खण्डलुकको टाउकोमा बियरको बोतलले लागेको चोट देखिएको प्रहरीले जानकारी दिएको छ।

घाइते खण्डलुकलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेजमा लगिएको छ। उनको सिटी स्क्यान रिपोर्ट सामान्य रहेको र बोल्न सक्ने अवस्थामा उपचार भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमा तनहुँको देवघाट गाउँपालिका–१ निवासी १९ वर्षीय सन्तोष थापा, (का) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–४ निवासी २१ वर्षीय नवीन ठाडा मगर, चितवनको कालिका नगरपालिका–७ निवासी २० वर्षीय भुपिन थापा मगर, तनहुँको देवघाट गाउँपालिका–१ निवासी २१ वर्षीय मुनाल मगर, नवलपुरको गैंडाकोट नगरपालिका–४ निवासी २४ वर्षीय आवाज गुरुङ र गैंडाकोट नगरपालिका–१ निवासी २३ वर्षीय रोशन आले मगर रहेका छन्।

प्रहरीले घटनास्थलमा खोजतलास गर्ने क्रममा एउटा झोलाभित्र खुकुरी एक थानसमेत बरामद गरेको छ। साथै, घटनामा संलग्न व्यक्तिहरूसँग सम्बन्धित लु.प्र.०१–००९ प ९४६८ र बा.प्र.०६–००८ प ४६८३ नम्बरका दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएका व्यक्ति, बरामद हतियार र मोटरसाइकललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डेढगाउँ पठाइएको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार