काठमाडौं । नाकाबन्दीका कारण खाद्यसामग्रीको अभाव झेलिरहेको कतारलाई इरानले पाँचवटा प्लेनलोड खानेकुरा पठाएको छ।
इरानको प्रमुख शत्रु साउदी अरब लगायत सात मुलुकले अघिल्लो हप्ता कतारलाई आतंकवादमा लगानी गरेको आरोप लगाउँदै उससँगको कूटनीतिक सम्बन्ध तोडेका थिए। कतारले सबै आरोप खारेज गरेको छ।
साउदी अरबसँग नाका जोडिएको कतारको ४० प्रतिशत खानेकुरा त्यहीँबाट भित्रिन्थ्यो र अहिले त्यो नाका बन्द गरिएको छ।नाकाबन्दी लगाउने मुलुकहरूले आफ्नो भूमिमा रहेका कतारीहरूलाई जान आदेश दिएका छन् तर कतारले ती देशका नागरिकलाई ननिकाल्ने बताएको छ।
इरान एयरका एक प्रवक्ता शाहरोक नूशाबादीले एएफपी न्युज एजेन्सीलाई आइतवार बताए, ‘अहिलेसम्म पाँचवटा प्लेनमा फलफूल र तरकारी कतार पठाइएको छ । प्रत्येकले करीब ९० टन कार्गो बोकेका छन् भने अर्को विमान आज पठाइनेछ।’
यो खानेकुरा सहयोग सामग्री हो कि व्यापारिक विनिमय हो भन्ने प्रस्ट छैन। नूशाबादीले माग भएसम्म आपूर्ति जारी रहने बताए। इरानको तस्निम समाचार संस्थाले रिपोर्ट गरेअनुसार ३५० टनबराबरका खानेकुरा पनि तीनवटा जहाजहरू कतारतर्फ जाँदैछन्। बीबीसीबाट