रौतहटमा KYC अपडेट गर्ने बहानामा झन्डै ५० लाख रुपियाँ ठगी, तीन जना पक्राउ

रौतहटमा KYC अपडेट गर्ने बहानामा झन्डै ५० लाख रुपियाँ ठगी, तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ असोज २०८३
  • 0
    Shares

रौतहट, २७ असोज २०८३।

बैंक तथा ई–सेवाका कर्मचारी भएको भन्दै अनलाइनमार्फत केवाईसी (KYC) अपडेट गर्ने बहानामा सेवाग्राहीबाट ४९ लाख ८७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार गत असोज २३ गते अपराह्न करिब ४ बजे खटिएको प्रहरी टोलीले गौर नगरपालिका–३ पोखरिया टोल र वडा नम्बर ५ को कोईरी टोलबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, सीतामढी जिल्ला, बैरगनिया घर भई गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मो. साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ निवासी १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले विभिन्न बैंक तथा ई–सेवाका कर्मचारी भएको परिचय दिँदै सेवाग्राहीलाई फोन तथा भिडियो कल गर्ने गरेका थिए। त्यसक्रममा केवाईसी अपडेट गर्नुपर्ने भन्दै मोबाइलको स्क्रिन सेयर गर्न लगाउने र ओटीपी (OTP) लगायतका गोप्य बैंकिङ विवरण प्राप्त गरी सेवाग्राहीको बैंक तथा वालेट खाताबाट रकम अनधिकृत रूपमा स्थानान्तरण गर्ने गरेको खुलेको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट नेपाली रुपैयाँ १ लाख ६२ हजार २१० र भारतीय रुपैयाँ ३ हजार २३६ बरामद गरेको छ। यस्तै, मोबाइल फोन सात थान, सिमकार्ड ११ थान, विभिन्न बैंक तथा वित्तीय संस्थाका डिपोजिट भौचर ३० थान, एटीएम कार्ड तीन थान र चेक दुई थान बरामद गरिएको छ।

बरामद चेकमध्ये प्रभु बैंकको १६ हजार रुपैयाँको र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको चेक रहेको प्रहरीले जनाएको छ। यसका अतिरिक्त चेकबुक, डायरी, कपी, पेनड्राइभ, मेमोरी कार्ड तथा बैंकिङ विवरण लेखिएका पर्चालगायत सामग्री पनि बरामद गरिएको छ।

हालसम्मको अनुसन्धानबाट केवाईसी अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको छ। पक्राउ परेका तीनै जनामाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार