तनहुँ, २६ असोज २०८३।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
डुम्रेबाट दमौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक घाँसीकुवाको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको हो भने सहचालक घाइते भएका हुन्।
उक्त दुर्घटनामा परेर धादिङको सिद्धलेक गाउँपालिका–६ घर भएका ३० वर्षीय ट्रक चालक सञ्जीव मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोही दुर्घटनाम परेर घाइते भएका धादिङको सिद्धलेक ६ कै सहचालक प्रदीप विकको प्रदेश अस्पताल दमौलीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
डिएसपी घिमिरेका अनुसार, सहचालक विकको शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।
सिमेन्ट लोड रहेको ट्रक घुम्तीमा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ.