मुगु, २६ असोज २०८३।
मुगुको खत्याड गाउँपालिका-११ स्थित बिरा खोलामा सुक्खा पहिरो खस्दा एक्साभेटरसहित चालक पुरिएका छन्।
आज बिहान करिब साढे ८ बजे मुगु-रारा भित्री सडकखण्डअन्तर्गत बेलीब्रिज जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा एक्कासी माथिबाट सुक्खा पहिरो खसेको थियो।
पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्साभेटर पुरिएको प्रहरीले जनाएको छ। एक्स्काभेटरसहित बझाङका २४ वर्षीय चालक विमल बाग पुरिएका छन्। उनको अवस्था अझै अज्ञात छ।
एक्साभेटरमा रहेका अर्का सहचालक भने घाइते भएका छन्। घाइते हुनेमा मुगुको सोरु गाउँपालिका-१ निवासी २२ वर्षीय विनय मल्ल रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। पहिरोबाट खसेको ढुङ्गा लागेर उनको हातखुट्टामा चोट लागेको छ। यद्यपि उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ। पहिरो ठूलो भएकाले एक्साभेटर र पुरिएका चालकको खोजी तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।