पोखरा, २८ असोज २०८३।
पोखरा, असोज – पोखरा-३, तेर्सापट्टि निवासी कलाकार रामबहादुर उदासको ८७ वर्षको उमेरमा शनिबार निधन भएको छ।
शनिबार बिहान ८:३० बजे धर्मशीला बुद्धविहार नदीपुरमा आयोजित समारोहमा ‘सोम स्मृति ज्ञानमाला पुरस्कार’ ग्रहण गर्न गएका उदास विहारको प्राङ्गणमै बेहोस भएर लडेका थिए। तत्काल फिस्टेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको परिवारजनले जनाएको छ।
कार्यक्रमस्थल र उनको निवास करिब १०० मिटरको दूरीमा मात्र छ। छिमेकी श्याम शाक्यका अनुसार अघिल्लो दिन निमन्त्रणा गर्न जाँदा उदासले ‘अलि सञ्चो छैन, आउन सकिनँ भने पुरस्कार अरु कसैलाई पठाउनु होला’ भनेका थिए, तर सकी-नसकी आफैं उपस्थित भएका थिए।
स्व. उदासको पोखरा-३ तुलसीघाटमा दाहसंस्कार गरिएको छ। पिता कृष्णबहादुर र माता छलिमायाको कोखबाट वि.सं. १९९७ असार २० गते जन्मिएका उनी नृत्य कलाकारका रूपमा परिचित थिए। सामूहिक भैरव नृत्यमा उनी मुख्य ‘भैरव’ बनेर नाच्थे भने तायामचामा ‘परी’ बनेर प्रस्तुति दिन्थे। पेसाले उनी भाँडावर्तन बनाउने कालीगढ थिए।
ज्ञानमाला संघ पोखरा स्थापना भएको २०२२ सालदेखि नै संघमा आबद्ध भई भजन गाउँदै आएका संस्थापक तथा ज्येष्ठ सदस्य उदासलाई यस वर्ष ‘सोम स्मृति ज्ञानमाला पुरस्कार’ प्रदान गरिएको हो। यसअघि भैरव संरक्षण समितिबाट पनि उनी सम्मानित भएका थिए।
उनका धर्मपत्नी सीतादेवी, २ छोरा दीपकमान र दिनेश, एक छोरी अनिला तथा नातिनातिना छन्।