बूढीगण्डकी भीषण बाढी प्रकरण : गोरखामा १० जना सम्पर्कविहीन, चार जलविद्युत् आयोजनामा क्षति, ६ पुल र ३५ घर बगायो

बूढीगण्डकी भीषण बाढी प्रकरण : गोरखामा १० जना सम्पर्कविहीन, चार जलविद्युत् आयोजनामा क्षति, ६ पुल र ३५ घर बगायो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ असोज २०८३
  • 456
    Shares

गोरखा, २५ असोज २०८३।

बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले गोरखामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परेर कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् भने ६ वटा पुल बगाएको छ।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुई वटा पक्की मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल बगाएको हो।

बगेका पक्की पुलहरूमा आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने पुल तथा आरुघाटकै सोती र मान्बु जोड्ने पुल रहेका छन्। त्यसैगरी धार्चे गाउँपालिका-१ र ३ जोड्ने बेलिब्रिज पनि बाढीले बगाएको छ।

बाढीले बगाएका झोलुङ्गे पुलहरूमा माछिखोला र केरौँजा जोड्ने पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल छन्।

बाढीले चुमनुब्री गाउँपालिका-३ को पैयुँ र बगरमा ठूलो क्षति पुर्याएको छ। त्यहाँका करिब ३५ घर बाढीले बगाएको छ। साथै जगत, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि बाढीले क्षति पुर्याएको छ।

चार जलविद्युत् आयोजनामा क्षति

बूढीगण्डकीको बाढीले नदी किनारमा निर्माणाधीन चारवटा जलविद्युत् आयोजनामा पनि क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार आयोजनाका क्याम्प, निर्माण उपकरण, बेलिब्रिज र पहुँच सडकमा क्षति पुगेको छ।

१. ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना: सबैभन्दा बढी क्षति यसै आयोजनामा भएको छ। टाइम्स इनर्जी प्रा.लि.ले प्रवर्द्धन गरेको आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरण पनि बाढीले बगाएको छ।

२. २४.५ मेगावाटको दोभान खोला आयोजना: दोभान खोला हाइड्रोपावर लि.को आयोजनाको क्याम्पका केही घरमा क्षति पुगेको छ र बेलिब्रिज बगाएको छ।

३. ३०.९१ मेगावाटको यारु खोला आयोजना: यारु हाइड्रो पावर प्रा.लि.को आयोजनाको बेलिब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री र उपकरण बगाएको छ।

४. १६ मेगावाटको माछा खोला आयोजना: वाटर इनर्जी डेभलपमेन्ट प्रा.लि.को आयोजनाको पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा क्षति पुगेको छ, जसले गर्दा आवतजावत प्रभावित भएको छ।

चारवटै आयोजनाको क्षतिको विवरण प्रारम्भिक मात्र हो। बाढीबाट भएको कुल आर्थिक क्षति र निर्माणमा पर्ने असरबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार