भारतको मणिपुरमा फेरि भड्कियो हिंसा, नौजनाको मृत्यु

भारतको मणिपुरमा फेरि भड्कियो हिंसा, नौजनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ असोज २०८३
  • 114
    Shares

पोखरा, २६ असोज २०८३।

भारतको मणिपुरका पहाडी जिल्लामा फेरि हिंसा भड्किएको छ। नयाँ हिंसामा कम्तीमा ९ जनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी घरमा आगजनी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कसरी शुरु भयो हिंसा?
शुक्रबार राति कामजोङ जिल्लाको चासद गाउँमा सुरक्षा बलले अवैध बंकर हटाउन अभियान चलाउँदा गोली हानाहान भएको थियो। त्यसक्रममा ४२ वर्षीया कुकी महिला डोमखोनी तोथाङको मृत्यु भएपछि तनाव चुलिएको हो। प्रहरीका अनुसार स्थानीय महिलाले अभियानमा अवरोध गरेपछि अज्ञात समूहले गोली चलाएको र जवाफी कारबाही भएको थियो। त्यसपछि अज्ञात समूहले गाउँमा आगजनी गरेका थिए।

शनिबार बिहान चासद गाउँमै अर्का कुकी व्यक्तिको हत्या र प्रहरी चौकीमा आगजनीको प्रयासपछि हिंसा झन् फैलियो। जिल्ला प्रशासनले चौकी वरपर ४०० मिटर निषेधाज्ञा लगाएको छ।

शनिबार भएका अन्य आक्रमण :

  • निङ्चु गाउँ (कामजोङ): दुई नागा गाउँ रक्षक – ३६ वर्षीय न्गाचान्सो निङ्शेन र ४८ वर्षीय लेशिशान हाङयोको भारत-म्यानमार सीमाको पिलर १०२ नजिकै हत्या।
  • माकुई गाउँ: बिहान ५ बजे कुकी समूहको आक्रमणमा ३ नागा गाउँ रक्षकको मृत्यु।
  • तपोन गाउँ (काङ्पोक्पी): एक स्वयंसेवक माचुङवाङबो (३५) को मृत्यु, २ जना घाइते।
  • कोन्जाङ (उखरुल): नेपाली गाउँका ३० वर्षीय सन्दीप राईको गोली हानी हत्या।
    शनिबार साँझ अबेरसम्म पनि धेरै ठाउँमा गोलाबारी जारी रह्यो।

फेब्रुअरी ७ मा कुकी र नागा युवाबिचको झडपबाट सुरु भएको कुकी-ताङ्खुल नागा द्वन्द्वमा पछिल्लो ८ महिनामा ६० भन्दा बढीको मृत्यु भइसकेको छ।

यसैबिच, मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शनिबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्। भेटपछि उनले ‘शान्तिपूर्ण र विकसित मणिपुर निर्माण गर्ने संकल्प’ मा छलफल भएको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार