गोरखाको बूढीगण्डकीमा एकाबिहानै ठूलो बाढी, नदी किनारका बासिन्दा भागाभाग

गोरखाको बूढीगण्डकीमा एकाबिहानै ठूलो बाढी, नदी किनारका बासिन्दा भागाभाग


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ असोज २०८३
  • 152
    Shares

गोरखा, २५ असोज २०८३ ।

गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहानै ठूलो बाढी आएपछि नदी किनारका बस्तीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्। नदीमा ठूलो गडगडाहटसहित बाढी आएको र नदी थुनिने तथा पुनः खुल्ने क्रम जारी रहेकाले स्थानीय बासिन्दा त्रसित भएका छन्।

चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङका अनुसार बूढीगण्डकी नदीमा स्यारखोलातर्फबाट बाढी आएको हो। आइतबार बिहान करिब साढे ४ बजे ठूलो आवाजसहित बाढी आएपछि नदी आसपासका बस्तीका बासिन्दा घर छाडेर भागेका थिए।

चुमनुब्री गाउँपालिका–३, जगतका स्थानीय गणेश कार्कीका अनुसार नदी थुनिने र खुल्ने क्रम पटक–पटक दोहोरिएको छ। उनका अनुसार तीनपटकसम्म नदी थुनिने र खुल्ने भएको थियो। समाचार तयार पार्दासम्म पनि करिब २० मिनेटदेखि नदी पुनः थुनिएको उनले बताएका छन्।

नदीमा पानीको बहाव एक्कासि बढ्ने तथा थुनिएको पानी एकैपटक खुल्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

प्रहरी निरीक्षक आकास कँडेलका अनुसार जगत, सल्लेरी, सिर्दिवास, खोर्लाबेँसी, माछाखोला, सोती र आर्खेटलगायत बूढीगण्डकी नदी किनारका बस्तीका बासिन्दालाई माइकिङ तथा टेलिफोनमार्फत सुरक्षित स्थानमा सर्न सूचना दिइएको छ। आरुघाट क्षेत्रका बासिन्दालाई पनि सतर्क गराइएको छ।

स्थानीय सेराप गुरुङका अनुसार बिहान ठूलो आवाजसहित बाढी आएपछि लोक्पाका बासिन्दासमेत घर छाडेर सुरक्षित स्थानतर्फ लागेका थिए।

नदी थुनिने र खुल्ने क्रम जारी रहेको विवरणले नदी किनारका बस्तीमा जोखिम बढ्न सक्ने देखिएको छ। त्यसैले स्थानीय बासिन्दालाई नदीको किनार तथा जोखिमयुक्त क्षेत्रबाट टाढा रहन र सुरक्षाकर्मीले दिएको निर्देशन पालना गर्न आवश्यक छ।

प्रतिक्रिया
सम्बन्धित समाचार