कालिका बोर्डिङ स्कुल बस दुर्घटना : सिकिस्त अश्मि कँडेललाई काठमाडौं लगियो, तीनजनाको रामघाटमा अन्त्येष्टि

कालिका बोर्डिङ स्कुल बस दुर्घटना : सिकिस्त अश्मि कँडेललाई काठमाडौं लगियो, तीनजनाको रामघाटमा अन्त्येष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ असोज २०८३
  • 532
    Shares

पोखरा, २८ असोज २०८३।

पोखरा महानगरपालिका-२८ ओख्लेमा भएको कालिका बोर्डिङ स्कुल बस दुर्घटनामा सिकिस्त भएकी घाइते अश्मि कँडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट काठमाडौं लगिएको छ।

वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट काठमाडौंको बिएण्डबी अस्पताल लगिएको हो। दुर्घटनामा उनीसहित १७ जना घाइते भएका थिए भने चार विद्यार्थीसहित पांचजनाको ज्यान गएको थियो।

ज्यान गुमाएका ममता तिवारी, सुभेच्छा तिवारी र असिम कँडेलको आइतबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ। ६५ वर्षीय बाबुराम तिवारी र रेनुका नेपालीको परिवारका सदस्य आउँदै गरेकाले अन्त्येष्टि पछि गरिने भएको छ।

पीडित परिवारको तर्फबाट माझठानाबासीले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएपछि प्रहरीले अस्पताललाई पत्र लेखेको थियो, त्यसपछि पोष्टमार्टम गरी अन्त्येष्टि गरिएको हो।

शनिबार बिहान पीडित पक्ष र कालिका बोर्डिङ स्कुल सञ्चालकबीच सहमति भएपछि मात्र पोष्टमार्टम र दाहसंस्कार प्रक्रिया अघि बढेको हो। सहमति अनुसार विद्यालयले मृतक परिवारलाई क्षतिपूर्ति/राहत र घाइतेको सम्पूर्ण उपचार खर्च बेहोर्ने भएको छ।

शुक्रबार बिहान माझठानाको सौर्य क्षेत्रबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो। बसमा पोखरा-२८ का बाबुराम तिवारी उपचारका लागि लिफ्ट मागेर चढेका थिए।

घाइते विद्यार्थीहरू सृष्टि तिवारी, शिमन थापा मगर र सौगात तिमिल्सिना (तीनै जना कक्षा १० का १६ वर्षीय) को गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ, अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। बस चालक तुलबहादुर गुरुङ पनि घाइते छन्। दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार