गोरखा, २६ असोज २०८३ ,
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाको बाढीका कारण गएको पहिरोमा परि पाँच जना सम्पर्कविहीन भएका छन् । सोही क्षेत्र आसपास भेडीगोठमा बस्दै आएका चुमनुब्री गाउँपालिका–६ चुम्चेतका ६५ बर्षीय सोनाम लामा, उनकी श्रीमती ५९ बर्षीया लाक्पा थोर्मा लामा, ६६ बर्षीया सोम भुटी लामा, ६८ बर्षीय कर्मा लामा र ४१ बर्षीय तेन दोर्जे लामा सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डीएसपी राजकुमार श्रेष्ठका अनुसार पहिरोले सो क्षेत्रमा रहेको चार वटा भेडीगोठ र त्यहाँ रहेका करिव डेढ सय पशुचौपाय बगाएको छ ।
कसरी आयो बूढीगण्डकीमा बाढी ?
पहिरोले उङ्गिलुङ खोला थुनिएकै कारण बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको हो । उङ्गिलुङ खोला स्यार खोला हुँदै बूढीगण्डकीमा मिसिन्छ । पहिरोले थुनिएको उङ्गिलुङ खोला एक्कासी खुल्दा बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएर वितण्डा मच्चाएको हो ।
क्षति :
प्रहरी प्रधान कार्यालयका अनुसार बाढीले २६ घर, ९ गोठ, ४ पुल, १ सरकारी कार्यालयमा क्षति पुगेको छ। साथै झोलुंगे र पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बूढीगण्डकी हाइड्रोको क्याम्प र उपकरणमा समेत क्षति भएको छ।
उद्धार र खोजी :
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार हेलिकप्टरसहित खोजी तीव्र पारिएको छ।
- प्रभावित क्षेत्रमा १४३ जना प्रहरी, नेपाली सेनाका १२७ जना (३ स्पेसल फोर्स सहित) र सशस्त्र प्रहरीका १७७ जना खटिएका छन्।
- सेनाका ४ हेलिकप्टर परिचालित छन्।
- विपद् प्रतिकार्य केन्द्र सामाखुसीबाट ५० जना तयारी अवस्थामा राखिएको छ।
- सल्लेरीस्थित बूढीगण्डकी हाइड्रोका १२ कर्मचारीसहित ४८ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
- हालसम्म जगतबाट १७, यारुबाट २२, ठूलोढुंगाबाट १३, दोभानबाट ३, फिलिमबाट २, न्याकफेदीबाट १७, पायुबाट १२, नामरुङबाट ३, देङबाट ३ र धौलीबाट ३ गरी ९५ जनाको उद्धार भएको छ।
- आरुघाटबाट ९ विदेशीसहित ३५ जनालाई काठमाडौं ल्याइएको छ।
सरकारको तयारी :
आरुघाट-धादिङ जोड्ने मोटरेबल पुलमा बेलिब्रिज जडान गर्न सेनाको इन्जिनियरिङ टोली खटिएको छ। घटनाको कारण पत्ता लगाउन प्रधानमन्त्री कार्यालयले भूगर्भविद् सहितको ३ सदस्यीय टोली ड्रोनसहित पठाएको छ। स्थल र हवाई मार्गबाट राहत ढुवानी भइरहेको, गोरखा, लमजुङ, तनहुँका द्रुत प्रतिकार्य टोली र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ।
नदी तटीय बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल/सडक प्रयोग नगर्न र प्रशासनको निर्देशन पालना गर्न प्रहरीले अनुरोध गरेको छ।