पोखरा , २६ असोज २०८३।
जेनजी आन्दोलनमा कपिलवस्तुको तौलिहवा कारागारबाट भागेका १८ वर्ष लामो कैदी जीवन बिताइरहेका वलात्कारी फेरि एक वर्षपछि रुपन्देहीबाट पक्राउ परेका छन्।
२०८२ सालको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा तौलिहवा कारागारबाट भागेका कपिलवस्तुको वाणगंगा नगरपालिका-१० भावपुरका २३ वर्षीय विष्णु चौधरी थारु फेरि रुपन्देहीबाट पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार चौधरी गत वर्ष २०८२ भदौ २५ गते जेनजी आन्दोलनका क्रममा तौलिहवा कारागारबाट भागेका थिए । फरार कैदीको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा खटिएको टोलीले उनलाई रुपन्देहीको मायादेवी गाउँपालिका-८ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका चौधरीलाई बाँकी कैद भुक्तानका लागि असोज २३ गते कारागार कार्यालय तौलिहवा पठाएको छ ।
प्रहरीका अनुसार चौधरी जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका कैदी हुन् । २०८० असोज ७ गते भएको जबरजस्ती करणी सम्बन्धि कसुरमा अदालतले २०८० चैत २९ गते उनलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
उनले यसअघि दुई वर्ष तीन महिना १९ दिन कैद भुक्तान गरिसकेका छन् । अब उनले अझै १५ वर्ष ८ महिना ११ दिन लामो कैदी जीवन कारागारभित्रै बिताउनुपर्नेछ ।