काठमाडौं, २६ असोज २०८३।
मुलुकमा बाढीको कहर चलिरहेका बेला गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन्।
रसुवा बाढीका बेला बाढीस्थलमा पुगेर उद्धार कार्यमा संलग्न रहेका गृह मन्त्री गुरुङ आफ्नै निर्वाचन क्षेत्र अनि जन्मथलोमा बाढीले उत्पात मच्चाईरहेका बेला गोर्खा नगई भारत प्रस्थान गरेका हुन्।
गृहमन्त्री गुरुङ सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्। गृह मन्त्रालयका अनुसार उनी असोज २७ गते नयाँ दिल्लीमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुनेछन्।
बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरू नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्रीहरूको सहभागिता रहनेछ। बैठकको मुख्य एजेन्डा आतंकवाद तथा अन्तरदेशीय संगठित अपराध नियन्त्रण, मानव तस्करी, लागूऔषध ओसारपसार नियन्त्रण र सुरक्षा सहयोगलाई थप प्रभावकारी बनाउने रहेको छ।
बैठकमा सदस्य राष्ट्रहरूबीच सुरक्षा सूचना आदानप्रदान, सीमा सुरक्षा व्यवस्थापन र प्रविधिमार्फत अपराध नियन्त्रणका विषयमा समेत छलफल हुने बताइएको छ।
गृहमन्त्री गुरुङको नेतृत्वमा गृह मन्त्रालयका सहसचिव र परराष्ट्र मन्त्रालयका अधिकारीहरू समेत सहभागी छन्। बैठक सम्पन्न गरी गृहमन्त्री गुरुङ असोज २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ।