नवलपुरमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट : दुई जना घाइते

नवलपुरमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट : दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ असोज २०८३
  • 380
    Shares

नवलपुर, २६ असोज २०८३ ।

नवलपुरमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

जिल्लाको कावासोती नगरपालिका-०८ थकाली चोकमा अज्ञात वस्तु काट्ने क्रममा अचानक पड्किँदा दुई जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपुर्का अनुसार, मध्यबिन्दु नगरपालिका-०३ ब्रह्मस्थान बस्ने ४९ वर्षीय एकासी बोटेले आज बिहान कावासोती नगरपालिका-१७ अमलटारीघाटस्थित नारायणी नदी किनारमा एक अज्ञात वस्तु फेला पारेका थिए।

बाहिरी भागमा डोरीजस्तो वस्तुले बेरिएको, भित्री भाग फलामजस्तो देखिने तथा बेलनाकार आकारको उक्त वस्तुको लम्बाइ करिब २ फिट र गोलाइ १४ इन्च रहेको प्रहरीले जनाएको छ।

बोटेले उक्त वस्तु घरमा ल्याएपछि बिहान करिब ११:२० बजे भारत मोतिहारी घर भई हाल कावासोती-०८ थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमारसँग मिलेर हेक्सा ब्लेडले काट्ने क्रममा एक्कासी विस्फोट भएको थियो।

विस्फोटमा परी दुवै जना घाइते भएका छन्। घाइते दुवै जनालाई तत्काल उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका लागि लगिएको छ। चिकित्सकका अनुसार दुवैको अवस्था मध्यम रहेको छ र खतरा बाहिर रहेको छ।

नदी किनारमा फेला परेको उक्त वस्तु पुरानो बम वा विस्फोटक पदार्थ हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई समेत खबर गरिएको छ।

फेला परेको वस्तु के हो र विस्फोट कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार