पोखरा , २६ असोज २०८३ ।
पोखरामा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा एक लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
पोखरा महानगरपालिका-१७ पुल्चोकस्थित मियाँपाटनस्थित बालकृष्ण घिमिरेको ब्लक र टिनले छाएको २ कोठे घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो।
उक्त आगलागीबाट सोही घरमा भाडामा बस्ने वर्ष ४५ का ईसान राईको कोठा जलेर पूर्ण रूपमा क्षति भएको छ भने अर्को कोठामा बस्ने वर्ष ५८ की खस माया गुरुङको कोठामा आंशिक क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।
आगलागीबाट अन्दाजी एकलाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।
आगो लागेको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक झलक प्रसाद शर्माको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको थियो।
स्थानीय, दमकल र प्रहरीको सहयोगमा दिउँसो १२:५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
उक्त स्थान वडा प्रहरी कार्यालय बैदामबाट अन्दाजी ३ किलोमिटर दक्षिणमा पर्दछ।