महाकाली नदीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

महाकाली नदीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ असोज २०८३
  • 513
    Shares

कञ्चनपुर, २४ असोज २०८३।

महाकाली नदीमा नेपाल टेलिकमको चुँडिएको तार पुनः तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन्। बेपत्ता हुनेमा देवीस्थान गुल्ममा कार्यरत असई सागरराज थारु रहेका छन्।

सशस्त्र प्रहरीका अनुसार शनिबार दिउँसो १२ः१५ बजे दोधारा चाँदनी नगरपालिका–४ बाट भीमदत्त नगरपालिका–१३ तर्फ रबर बोटको सहायताले महाकाली नदी पारि टेलिकमको तार तान्ने क्रममा उक्त घटना भएको हो।

केही दिनअघि महाकाली नदीमा रहेको झोलुङ्गे पुल बगाउँदा नेपाल टेलिकमको तारसमेत चुँडिएको थियो। तार चुँडिएपछि दोधारा चाँदनी क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो।

अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गर्ने उद्देश्यले नदीमा चुँडिएको तार रबर बोटमार्फत वारपार तान्ने काम भइरहेको थियो। सोही क्रममा तार असई थारुको खुट्टामा अल्झिएपछि उनी रबर बोटबाट नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनापछि थारुको खोजी कार्य जारी रहेको छ। उनको अवस्था र खोजी कार्यको पछिल्लो प्रगतिबारे थप विवरण प्राप्त हुन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार