काठमाडौं , २४ असोज २०८३।
रक्तचन्दन तस्करीसम्बन्धी १३ वर्ष पुरानो मुद्दामा प्रहरीले व्यवसायी नवीन बस्नेतलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार राति काठमाडौंको पेप्सीकोलास्थित निवासबाट उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका बस्नेतलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ। दोलखा घर भएका उनी हाल ठेक्कापट्टाको व्यवसायमा संलग्न छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार ठेगाना नखुलेका कारण लामो समयदेखि विचाराधीन रहेको रक्तचन्दन तस्करीसम्बन्धी मुद्दामा बस्नेतलाई पक्राउ गरिएको हो।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतसहित पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ प्रभुशमशेर जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको निवासमा छापा मारेको थियो। बस्नेतलाई जबराको निकटस्थ व्यक्तिका रूपमा पनि चिनिन्छ।
व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसम्बन्धी मुद्दा मिलाउन झापाका इनम सापकोटामार्फत चलखेल गरेको आरोपमा प्रहरीले चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरी पछि रिहा गरेको थियो। इनम सापकोटाविरुद्ध भने जिल्ला प्रहरी परिसर काठमाडौंले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार बस्नेतमाथि रक्तचन्दन तस्करीसम्बन्धी मुद्दामा थप अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।