कांग्रेस सभापतिमा गगनकुमार थापा भारीमतका साथ विजयी, पाए ९३.८८ प्रतिशत मत

कांग्रेस सभापतिमा गगनकुमार थापा भारीमतका साथ विजयी, पाए ९३.८८ प्रतिशत मत


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ असोज २०८३
  • 513
    Shares

काठमाडौं, २४ असोज २०८३।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा गगनकुमार थापा भारी मतान्तरसहित विजयी भएका छन्। थापाले कुल खसेको मतको ९३.८८ प्रतिशत प्राप्त गर्दै सभापतिमा आफ्नो नेतृत्वलाई पुनः अनुमोदन गराएका हुन्।

प्राप्त मतपरिणामअनुसार थापाले ६ हजार पांच सय ८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले तीनसय७५ मत पाएका छन्। कुल सातहजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।

थापाले खड्गीलाई ६ हजार २०९ मतले पछि पारेका छन्। खड्गीले कुल खसेको मतको ५.३५ प्रतिशत प्राप्त गर्दा बदर मतको हिस्सा ०.७७ प्रतिशत रहेको छ। मतपरिणामले सभापति पदमा थापाको बलियो समर्थन देखाएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते काठमाडौंको खुलामञ्चमा शुरु भएको थियो। महाधिवेशनअन्तर्गत असोज २३ गते नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो। सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो। मतदानपछि मतपेटिका संकलनमा वर्षाका कारण ढिलाइ भएको र मतगणना सीसी क्यामेराको निगरानीमा गरिएको समाचारमा उल्लेख छ।

थापा यसअघि २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। पार्टीभित्र नेतृत्व परिवर्तन, पुस्तान्तरण र संगठनात्मक सुधारको पक्षमा आवाज उठाउँदै आएका थापा २०८२ पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए। त्यसपछि भएको नियमित महाधिवेशनमा उनी पुनः सभापति पदका उम्मेदवार बनेका थिए।

थापाको नेतृत्वमा कांग्रेसले पार्टीको राजनीतिक तथा संगठनात्मक पुनर्संरचना, युवा सहभागिता विस्तार र जनतासँगको सम्बन्ध सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको छ। उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनअघि अन्य दलसँग गठबन्धन नगर्ने नीति, पार्टीभित्र सुधार र सुशासनमा जोड दिइएको थियो।

यद्यपि, कांग्रेसभित्र नेतृत्व र महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद पूर्ण रूपमा अन्त्य भइसकेको छैन। पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी गरिरहेको पृष्ठभूमिमा थापाको भारी मतसहितको जितले पार्टीभित्रको एकता कायम गर्ने, असन्तुष्ट पक्षलाई समेट्ने र संगठनलाई सुदृढ बनाउने चुनौती पनि थपेको छ।

अब थापाका लागि निर्वाचनमा प्राप्त व्यापक समर्थनलाई पार्टीभित्रको एकता, संगठनात्मक सुधार र आगामी राजनीतिक प्रतिस्पर्धामा प्रभावकारी नेतृत्वमा रूपान्तरण गर्नु मुख्य चुनौती हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार