तनहुँ, २४ असोज २०८३।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ठूलोढुङ्गास्थित पृथ्वी राजमार्गमा बियर बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालक बेपत्ता भएका छन्।
प्रहरीका अनुसार शुक्रबार राति करिब ९ः३० बजे मुग्लिनबाट दमौलीतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०४१७ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको हो।
दुर्घटनापछि ट्रक चालक सम्पर्कमा नआएको र उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। बेपत्ता चालकको खोजीका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमान्डमा १३ जनाको टोली घटनास्थलमा खटिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार चालकको खोजी कार्य जारी छ। दुर्घटनाको थप विवरण र चालकको अवस्थाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।