स्थानीय तहलाई मनपरी नियुक्ति गर्न रोक

स्थानीय तहलाई मनपरी नियुक्ति गर्न रोक


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ जेष्ठ २०७४
  • 6.9K
    Shares

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले निजी सचिवालयका नाममा तत्काल कुनै नियुक्ति गर्न नपाउने भएका छन् ।

मन्त्रिपरिषदबाट १७ जेठमा जारी स्थानीय तह सञ्चालन आदेश २०७४ को कर्मचारी व्यवस्थापन तथा प्रशासन सम्बन्धी व्यवस्थामा यस्तो सचिवालय कार्यालयमा रहेका कर्मचारीबाट हुनुपर्ने उल्लेख गरेको छ ।

स्थानीय तहमा निर्वाचित कतिपय जनप्रतिनिधिले केन्द्रिय सरकारको प्रधानमन्त्री वा मन्त्री सरह राजनीतिक नियुक्ति दिएर सचिवालय बनाउने मनसाय राखेका थिए । आदेशमा भनिएको छ, ‘अर्को व्यवस्था नभएसम्म स्थानीय तहका प्रमुख वा उपप्रमुखको निजी सचिवालय सञ्चालनका लागि विद्यमान स्थानीय तहका कर्मचारीमध्येबाट व्यवस्थापन गर्न सकिनेछ । तर प्रमुख वा उपप्रमुखले निजी सचिवालयमा कुनै पनि नियुक्ति गर्न सक्ने छैन ।’

तर, आदेश बमोजिम कार्यसम्पादन गर्न जनशक्ति अभाव भएमा लोकसेवा आयोगको प्रतीक्षा सूची र अस्थायी सूचीमा रहेका व्यक्तिबाट ६ महिना करारमा राखेर काम गर्न सक्ने अधिकार दिएको छ ।

गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिले प्रशासकीय संगठन संरचना र दरबन्दीको ढाँचा नमुनाको रुपमा स्थानीय विकास मन्त्रालयले आगामी असार मसान्तभित्र उपलब्ध गराउने भएको छ । उक्त संरचना र दरबन्दीको ढाँचा र तोकिएको जिम्मेवारी अनुसार स्थानीय तहले आफ्नो प्रशासकीय संरचना आफै व्यवस्था गर्नुपर्ने जनाएको छ ।

आदेश अनुसार संविधानको धारा ३०२ अनुसार कर्मचारी समायोजन र दरबन्दी स्विकृत नभएसम्म तत्काल गाउँ र नगरपालिकाको कार्यालय सञ्चालन गर्न न्यूनतम दरबन्दी रहनेछ ।

उक्त दरबन्दीमा सरकारी सेवाका कर्मचारी खटाइने भएकाले स्थानीय तहले कुनैपनि कर्मचारी स्थायी, अस्थायी, ज्यालादारी वा अन्य कुनै किसिमबाट कर्मचारी नियुक्ति गर्न नपाइने जनाएको छ ।

तर, प्राविधिक पदका लागि तत्काल काम चलाउन प्रतिस्पर्धाका आधारमा करारमा नियुक्त गर्न पाउनेछन् । उक्त नियुक्ति सरकारी दरबन्दी आएपछि भने स्वतः खारेज हुने स्थानीय शासन आदेशमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार