पोखरा , १ साउन २०८३।प्रसूति उपचारका क्रममा लापरवाही गरेको ठहर गर्दै उपभोक्ता अदालतले एभरेस्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीलाई पीडित परिवारलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।
उपभोक्ता अदालतका अध्यक्ष डा. दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको संयुक्त इजलासले बिहीबार फैसला सुनाउँदै उपचारमा अस्पताल र चिकित्सक दुवैको लापरवाही पुष्टि भएको निष्कर्ष निकालेको हो। अदालतका प्रवक्ता होमनाथ कँडेलका अनुसार अस्पतालले ३० लाख रुपैयाँ र डा. तिवारीले नौ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने आदेश भएको छ।
अदालतले आफ्नो निर्णयको मुख्य आधार उपचार प्रक्रियामा देखिएको गम्भीर कमजोरीलाई बनाएको छ। प्रवक्ता कँडेलका अनुसार, प्रि-एक्लेम्प्सिया (गर्भावस्थामा हुने उच्च रक्तचापसम्बन्धी जटिल अवस्था) भएकी बिरामीलाई शल्यक्रियाअघि अनिवार्य रूपमा दिइनुपर्ने म्याग्नेसियम सल्फेट औषधि समयमै नदिई शल्यक्रियापछि मात्रै दिइएको विषयलाई उपचारमा भएको गम्भीर लापरवाहीका रूपमा अदालतले व्याख्या गरेको छ।
फैसलाअनुसार काठमाडौंको गोठाटार निवासी मनिता शर्मा गर्भावस्थाभर एभरेस्ट अस्पतालमा डा. तिवारीको नियमित निगरानीमा उपचाररत थिइन्। २०८१ मंसिर २५ गते, ३४ हप्ताको गर्भ रहेकै अवस्थामा उनको शल्यक्रियामार्फत सन्तान जन्माइएको थियो।
मनिताका पति सुवास पराजुलीका अनुसार पेटको माथिल्लो भागमा असह्य दुखाइ भएपछि उनलाई सोही दिन एभरेस्ट अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। साँझ करिब ४:३० बजे शल्यक्रियाका लागि अपरेसन थिएटर लगिएकी मनिताले ५:१५ बजे छोरीलाई जन्म दिएकी थिइन्। तर, पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेकी उनको शल्यक्रियापछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको र अन्ततः मृत्यु भएको थियो।
श्रीमतीको मृत्यु उपचारमा भएको लापरवाहीका कारण भएको दाबी गर्दै सुवास पराजुलीले उपभोक्ता अदालतमा क्षतिपूर्तिसहित मुद्दा दायर गरेका थिए। करिब एक वर्षसम्म चलेको सुनुवाइपछि अदालतले पीडित पक्षको दाबीलाई आंशिक रूपमा स्वीकार गर्दै क्षतिपूर्ति भराउने आदेश दिएको हो।
यसअघि पीडित परिवारले नेपाल मेडिकल काउन्सिलमा पनि उजुरी दिएको थियो। त्यहाँबाट अपेक्षित न्याय नपाएको भन्दै उनीहरू त्यसपछि उपभोक्ता अदालत पुगेका थिए।
अदालतको यो फैसला स्वास्थ्य सेवा प्रदायक संस्थाको उपचारसम्बन्धी उत्तरदायित्व र बिरामीको अधिकारका विषयमा महत्त्वपूर्ण नजिरका रूपमा हेरिएको छ।