पोखरा , ७ असोज २०८३।
पोखरा महानगरपालिका–२०, भलाम रयालेचौरमा जन्मिएका डा. कृष्णप्रसाद पौडेलले स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालेका छन्।
स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार गरेको मन्त्रीस्तरीय निर्णयअनुसार डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो। उनले मंगलबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। डा. पौडेलले आफूले मंगलबारदेखि विभागको जिम्मेवारी सम्हालेको जानकारी दिए।
स्वास्थ्य सेवा विभागको महानिर्देशक पद १२औँ तहको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डा. संगीता मिश्रा गएपछि स्वास्थ्य मन्त्रालयमा १२औँ तहका चिकित्सकका रूपमा डा. श्रीकृष्ण श्रेष्ठ मात्रै रहेका छन्।
यसअघि डा. पौडेल सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत थिए भने उनले यसभन्दा अघि पिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को निर्देशकको जिम्मेवारीसमेत सम्हालिई सकेका छन्।
यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनले सम्हाल्दै आएका थिए। विभागको नेतृत्वसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को निर्देशकको जिम्मेवारीसमेत सम्हालिरहेका डा. भट्टचन अब ईडीसीडीको निर्देशकका रूपमा मात्रै रहनेछन्।