पोखरा , ३१ भदौ २०८३ ।
रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खननका क्रममा विद्युत् गृह क्षेत्रबाट चार वटा सग्लो शव र एउटा मानव अङ्ग फेला परेको छ।
नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल विद्युत् प्राधिकरणको जनशक्ति र भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले आज विद्युत् गृह क्षेत्रबाट शव फेला पारेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सो जलविद्युत् केन्द्रको हाताभित्र रहेका भवन तथा पर्खाल समेत बगाएको थियो भने सुरुङ बन्द भएको थियो। प्रतिकूल अवस्थाका बाबजुद नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले शव फेला पारेको हो।
बाढी गएको दिन उक्त जलविद्युत् केन्द्रको बिहानी सिफ्टमा एक इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगी गरी ६ जना कर्मचारी कार्यरत रहेको केन्द्रका वरिष्ठ सहायक कमलबहादुर खरेलले जानकारी दिए।
नेपाली सेनाले सुरुङभित्र यथाशक्य छिटो प्रवेश गरी केन्द्रभित्र फसेका कर्मचारीको उद्धार कार्यलाई सहयोग पुर्याउन सदरमुकाम धुन्चेमा एक हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
यसैगरी, खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले अप्पर त्रिशूली जलविद्युत् आयोजना-१ को अडिट टनेलभित्रबाट आजै पांच जनाको शव फेला पारेको पनि सहायक प्रजिअ रिजालले बताए।