तनहुँ , ३१ भदौ २०८३ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
आफ्नै डेरा कोठामा मंगलबार राति करिब ११ बजे अचानक करेन्ट लागेर घाइते भएका ४५ वर्षीय खड्कबहादुर गौतमको उपचारका क्रममा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले दिएको जानकारी अनुसार , करेन्ट लागेका गौतमलाई छुट्याउने क्रममा सोही स्थानका ६५ वर्षीय डिलबहादुर सार्कीलाई पनि करेन्ट लागेको थियो। उनलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको छ।
यसैगरी मृतककी ४१ वर्षीया श्रीमती पार्वती गौतमलाई पनि करेन्ट लागेको थियो। उनको दाहिने हातको बुढी औँलामा चोट लागेको छ। उनको सुरुमा जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा उपचार गरिएकोमा थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको र हाल डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।