राष्ट्र संघको मन्चबाटै ट्रम्पले दिए इरानलाई सिध्याउने धम्की

राष्ट्र संघको मन्चबाटै ट्रम्पले दिए इरानलाई सिध्याउने धम्की


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ असोज २०८३
  • 627
    Shares

काठमाडौँ, ७ असोज २०८३ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनमा उनले इरान अब मध्यपूर्वको हेपाहा शक्ति नरहेको दाबी गरे। उनले इरानसामु दुई विकल्प राखेका छन्। 

‘के इरानसँग यस्तो सम्झौता होला, जसले उनीहरूलाई राष्ट्र पुनर्निर्माण गरेर मध्यपूर्व र विश्वकै उत्कृष्ट मुलुक बन्न सघाउँछ?’ उनले प्रश्न गरे, ‘कि यो इरानलाई छिटोभन्दा छिटो ध्वस्त पारुँ, ताकि उनीहरूले फेरि मान्छे मार्ने र देशलाई संकटमा पार्ने मौका नपाऊन्? कि म उनीहरूलाई भविष्यको आशा समेत नरहनेगरी पूरै ध्वस्त पारिदिऊँ?’

आणविक कार्यक्रम परित्यागको बदलामा सहकार्य गर्ने आफ्नो प्रस्ताव अस्वीकार गरेर इरानले ठूलो मौका गुमाएको ट्रम्पको टिप्पणी थियो।

नोभेम्बरमा हुने चुनावमा आफ्नो प्रदर्शन कस्तो हुन्छ भनेर इरानले नियालिरहेको उनको भनाइ थियो।

‘तर म यो चुनाव लडिरहेको छैन। रिपब्लिकन पार्टीले चुनाव लडिरहेको छ। म उनीहरूलाई सघाउँदैछु। मैले त चुनावलाई महत्व दिएकै छैन। मेरो ध्यान एउटै कुरामा छ– इरानसँग कहिल्यै पनि आणविक हतियार हुने छैन,’ ट्रम्पले भने।

तथापि, चुनाव लगत्तै इरानसँग सौदा हुनसक्ने उनले विश्वास व्यक्त गरे। 

उनले गाजाको शान्ति योजनामा ३० मुलुक जोडिएको बताए।

त्यस्तै, ट्रम्पले रुस र युक्रेनका नेताहरूसँग शान्ति ल्याउन आफूले पहल गरिरहेको पनि बताए।

‘मान्छेले सोचेभन्दा छिटो हामी यो काम गरेर देखाउँछौँ,’ ट्रम्पको भनाइ थियो।

ट्रम्पले सम्बोधनमा क्युबा असफल राष्ट्र भएको दाबी गरेपछि क्युबाली प्रतिनिधिमण्डल सभाहलबाट बाहिरिएको थियो। पछिल्लो समय ट्रम्प र उनका विदेशमन्त्री मार्को रुबियोले क्युबामा सत्ता पलटको प्रयास गरिरहेका छन्। 

ट्रम्पले सम्बोधनमा अमेरिकाको हितको रक्षार्थ बलप्रयोग गर्ने घोषणा पनि गरे।

‘अमेरिकाले अब पश्चिमी गोलार्धको कुनै पनि भागमा अमेरिकाविरुद्धको खतरालाई जरा गाड्न दिनेछैन। भेनेजुएलामा हामीले चालेको कदम त्यसैको प्रमाण हो। आवश्यक परेमा हामी अमेरिकाको हितको रक्षा गर्न हाम्रो अतुलनीय सैन्य शक्तिको प्रयोग गर्नेछौँ,’ ट्रम्पले भने, ‘हामी सबैका लागि सुरक्षित भविष्य निर्माण गर्न हाम्रो क्षेत्र र विश्वभरि आवश्यक पर्दा अमेरिकाको शक्तिलाई पुनर्स्थापित गर्दैछौँ। र, यो काम एकदम छिटो भइरहेको छ।’

उनले ग्रिनल्यान्डमा चाँडै दुई ठूला सैन्य शिविर राख्ने पनि बताए। एजेन्सी

प्रतिक्रिया